
काठमाडौँ। लगातारको वर्षा नरोकिएको र पहिरोको जोखिम बढेको भन्दै चितवन जिल्ला प्रशासन कार्यालयले चितवन हुँदै काठमाडौं जाने राजमार्गमा सवारीसाधन चलााउन रोक लगाएको छ।
अवस्था हेरेर भोलि बिहान ५ बजे पछि निर्णय लिने गरी हाललाई नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा गाडी चलाउन रोक लगाएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुंगासम्मको सडकमा पहिरोको जोखिम बढेका कारणले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए। हिजो रातिदेखि चितवन नारायणगढको आँपटारीमा रोकिएका गाडीका यात्रुलाई धैर्यधारण गरेर बस्न चितवन प्रशासनले अनुरोध गरेको छ।
भोलि आइतबारबाट मौसममा सुधार हुने पूर्वानुमान छ। नारायणगढ-मुग्लिन सडकको २६ किलोमा सडक दबेको र मुग्लिन कटेपछि पृथ्वीराजमार्गमा पहिरो गएका कारण बिहानैदेखि सडक अवरूद्ध थिए।

