
काठमाडौँ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को माइक्रो बस (हायस) पनि पुरिएको फेला परेको छ। आइतबार बस पुरिएको स्थानमा खोजी कार्य गर्दा अर्को पनि हायस पुरिएको भेटिएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार झ्याप्ले खोलामा पुरिएको अर्को माइक्रोबस (हायस) चितवनबाट आउँदै गरेको बा ३ ज १३४५ नम्बरको रहेको खुलेको छ।
हायसबाट १० जनाको शव निकालिएको छ।
योसँगै आइतबार मात्रै झ्याप्लेखोलाबाट निकालिएको शव संख्या १३ पुगेको छ।
बिहान पुरिएको बसबाट तीन जनाको शव निकालिएको थियो। उक्त बस गोरखाबाट काठमाडौं जाँदै गरेको बस हुनसक्ने अनुमान गरिएको छ।
यसअघि शनिबार नै झ्याप्ले खोलामा एउटा बस र विंगर जिप पुरिएका थिए। पुरिएको गाडीबाट १४ जनाको शव निकालिएको थियो।
