
काठमाडौं : सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-५ बैकुण्ठनगरस्थित सडकमा ना.१ ज ३५५१ नम्बरको म्याजिक गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ बस्ने ७४ वर्षीया कौशिला पौडेलको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ खाडो खोलास्थित सडकमा बेल्हीबाट राजबिराजतर्फ जाँदै गरेको को.२ ह ५१५३ नम्बरको ई-रिक्सा अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ई-रिक्सामा सवार तिलाठी कोईलाडी गाउँपालिका-२ लौनिया बस्ने ५२ वर्षीया छुतहरनिया देवी खङ्गको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राजबिराज गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
