
काठमाडौँ। धादिङको धुनिबेंसी नगरपालिका-९ झ्याप्लेखोलामा आइतबार बिहान ११ बजेसम्म २५ शव फेला परेका छन्।
शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आइतबार थप ११ जनाको शव निकालेको हो।
शनिबार राति एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्धार टोलीले आइतबार बिहान नौ पुरुष र दुई महिलाको शव निकालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
पुरिएका सवारीसाधन धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछट्टै भेटिएकाले कुन सवारीसाधनको शव कुन हो भन्ने यकीन गर्न समस्या भएको बताइएको छ ।
पुरिएको अवस्थामा फेला परेका सवारीसाधन टुक्राटुक्रा बनेकाले नम्बर पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।
गोरखाबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसको भने यकिन भएको छ। एस्काभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको शव देखिएपछि बसको यकीन भएको बताइएको छ।
पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीन र एक यात्रु रहेको भनिएपछि बीच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ।
देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे-नागढुंगा सडक ठाउँठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ।
अहिले पहिरो पन्छाउने काम भइरहेको छ। निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन खण्ड क्षतविक्षत छ।
