बाढीमा जनता डुबेपछि शिक्षामन्त्री भट्टराईलाई बिदा गर्न हतार

222
0
Share:

काठमाडौँ। बिहीबारदेखि परेको अविरल वर्षाले शनिबार सबै रेकर्ड तोड्दै देशभर कहर मच्चाइरहेको थियो। बाढी र पहिरोले कतै बस्ती नै बगाएको थियो, कतै राजमार्गमा यात्रुसहितका गाडी पहिरोमा पुरिएका थिए, संघीय राजधानी काठमाडौंमै कम्तिमा ३७ जनाको ज्यान गयो।

मध्याह्नसम्म देशभर हालत कहालीलाग्दो बन्दै गर्दा सरकारका मन्त्रीहरू केही नभएजस्तो गरी शनिबारीय छुट्टी मनाइरहेका थिए। जब बेलुकीपख वर्षा थामियो-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चाहिँ अनौठो हतारो देखाइन्।

पत्रकारहरूलाई मन्त्रालयका गतिविधि जानकारी दिन खोलिएको ह्वाट्सएप ग्रुपमा उनको सचिवालयले बेलुकी ८ बजेर सात मिनेट जाँदा एउटा विज्ञप्ति पठायो।

सो विज्ञप्तिमा मन्त्रालयका सहसचिव एवम्‌ प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईको हस्ताक्षर छ। विज्ञप्तिमा मन्त्रालयले विश्वविद्यालय, परिषद्‌ लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगत गर्न र देशभरका सबै विद्यालय तीन दिनका लागि बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको जनायो।

नेकपा (एमाले) की नेतृ, सांसद्‌ एवम्‌ मन्त्री भट्टराईले हाँकिरहेको मन्त्रालयले विद्यालय बन्द गर्ने उर्दी लगाउँदै विज्ञप्ति जारी गर्दासम्म हुनुसम्म क्षति भइसकेको थियो।

बाढीपहिरो चल्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ विद्यार्थीको ज्यान गइसकेको थियो।सयौं स्कुले बालबालिका अभिभावकसहित डुबानमा परेका थिए। दर्जनौं मानिस अझैसम्म बेपत्ता छन्‌।

कमेन्ट गर्नुहोस्
Share: