
काठमाडौँ। ओमानले क्यानडामा जारी ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा घरेलु टोलीमाथि फराकिलो जित हात पारेको छ। मंगलबार बिहान सम्पन्न खेलमा ओमान आठ विकेटले विजयी भएको हो। क्यानडाले दिएको १०७ रनको लक्ष्य ओमानले १५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।
पहिलो खेलमा नेपाललाई १४ रनले पराजित गरेको क्यानडा आफ्नो दोस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको हो।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले १९.५ ओाभरमा सबै विकेट गुमाएर मात्र १०६ रन बनाएको थियो। उसका लागि कप्तान निकोलस किर्तनले सर्वाधिक १८ रन बनाउँदा साद बिन जफरले १५, हर्ष ठाकर र श्रेयस मोब्बाले समान १४-१४ रन बनाए।
ओमानका कप्तान आकिल इलियास, कलीमुल्लाह र फयाज बटले समान दुई–दुई विकेट लिँदा जिसान मक्सुद, रफिउल्लाह र सकील अहमदले एक/एक विकेट लिए।
जवाफी लक्ष्य पछ्याएको ओमानले १५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। उसका लागि कप्तान अकिब इलियासले ५३ रनको अर्धशतकीय पारी खेल्दा कश्यप प्रजापति १३ रनमा आउट भए। सोयब खान ३० र जिसान मक्सुद २ रनमा नटआउट रहे।
क्यानडाका डिलोन हेलिगरले एक विकेट लिए। सिरिज अन्तर्गत आज राति पौने १० बजे नेपाल र क्यानडा भिड्दैछन्।
