पूर्वबाट फेरि मौसम बदली सुरु, यी स्थानमा वर्षा हुने

Share:

काठमाडौँ। ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ।

बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ। विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छभने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने बताइएको छ। सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ।ु यो असर भोलि र पर्सीसम्मै रहने जनाइएको छ। लगातारको वर्षा भने नहुने बताइएको छ ।

तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसमविद्हरुले बताएका छन्।

आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ। असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ।

असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ। कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा उल्लेख गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: