बल्खुको सुकुम्बासी बस्तीबाट माओवादीले सुरु गर्‍यो स्वयंसेवक परिचालन अभियान

Share:

काठमाडौँ। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तरक्रिया गरेका छन्।

सो क्षेत्रको स्थलगत अवलोकन, पीडित जनतालाई सम्बोधन गर्नुका साथै अध्यक्ष प्रचण्डले त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाए।

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि पुगेका हुन्।

यस्तै नेकपा माओवादी केन्द्रले बल्खुको सुकुम्बासी बस्तीबाट स्वयंसेवक परिचालन अभियान सुरु गरेको छ।

अध्यक्ष ‘प्रचण्ड’ ले मंगलबार प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि पार्टीले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको शुभारम्भ गरेको बताइएको छ।

सो क्रममा प्रचण्डले विपद् व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरे।

मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनले बताए।

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गरे।

२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उनले यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: