
काठमाडौँ। देशभर करिब १५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने ७ जना सङ्क्रमितको मृत्यु भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ।
हालसम्म ७६ जिल्लामा १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको ईडिसिडीको तथ्याङ्कले जनाएको छ।
कास्कीमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको ईडिसिडीले बताएको छ। त्यसपछि काठमाडौँ तनहुँ र पर्वतमा सबैभन्दा धेरैमा सङ्क्रमण देखिएको छ।
जसमा कास्कीमा दुई हजार २२१, तनहुँमा एक हजार ७२६, काठमाडौँमा एक हजार ९८६, पर्वतमा एक हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।
यस्तै, चितवनमा ८२९, गोरखामा ५५२ ,ललितपुरमा ४४८, बागलुङमा ३३९, स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
डेंगु दिनमा सक्रिय हुने कालो सेतो छिरबिरे रङको देखिने लामखुट्टेको टोकाइबाट हुने गर्छ।
प्रदेश अन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशमा छ हजार ४८९, बागमती प्रदेशमा चार हजार ४८९, कोशी प्रदेशमा एक हजार ३२९ जनामा डेंगु पुष्टि भएको छ। यसैगरी, लुम्बिनी प्रदेशमा ९९५, कर्णाली प्रदेशमा २२०, मधेश प्रदेशमा २८९ र सुदूरपश्चिम प्रदेशमा ७३९ जनामा डेंगु पुष्टि भएको बताइएको छ।
