
काठमाडौँ। बिहीबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग शनिबार बिहानदेखि खुलेको छ। हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरो रातभर पन्छाएपछि शनिबार बिहानैदेखि खुलेको हो।
उक्त नगरपालिकाको वडा नम्बर १ बाहुनीडाँडाको कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौँठेखोलामाथिको पहिरो रातभर हटाइएपछि अवरुद्ध यातायात शनिबार बिहानैदेखि खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए।
शुक्रबार दिनभरि पहिरो पन्छाउन दुई वटा डोजर प्रयोग गर्दा पनि नसकेपछि एक हजार बढी यात्रु अलपत्र परेको गिरीले बताए।
‘पहिरोले च्यास्मिटार, कदुवा, डौँठेखोला लगायतका क्षेत्रमा फसेको ठूला-साना गरी ५० गाडीमा सवार एक हजार बढी यात्रु अलपत्र पर्नु भएको थियो,’ गिरीले भने, ‘रातभरि पहिरो पन्छाएर यातायात खुलाइयो।’
सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराईबाट आएका गाडी जयरामघाट, डौँठेखेलामा र दिक्तेल-भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटारमा रोकिएका थिए।
