इजरायलको क्रूर हमला : हजारौँ प्यालेस्टिनीहरू चिहानमा परिणत

167
0
Share:

निकट पूर्वमा प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले १२ महिनाको क्रूर युद्धले गाजालाई भग्नावशेष र दशौँ हजार मानिसका लागि चिहानमा परिणत गरेको बताएका छन् ।

उनका अनुसार युद्धको सिकार भई मृत्य वरण गर्नेहरूमा अधिकांश महिला तथा बालबालिका रहेका छन् ।

उनका अनुसार गत वर्षको अक्टोबर ७ मा सुरु भएको गाजा युद्धको एक वर्ष बितिसकेको छ भने गाजामा २० लाख मानिस युद्धका कारण पीडाको सिकार बन्न बाध्य भई जबरजस्ती विस्थापन, रोग, भोकमरीको सामना गर्दै  घेराबन्दी गरिएको इलाकामा फसेका छन् ।

युद्धको प्रभावले गाजाका आवश्यक पूर्वाधारको चरम विनाश भएको उल्लेख गर्दै उनले बालबालिकाहरू सबैभन्दा बढी पीडित भएको बताए । उनका अनुसार गाजाका धेरै बालबालिकालाई हत्या र चोटपटकबाहेकका मनोवैज्ञानिक तथा अदृश्य घाउहरूले आघात पुर्याएको छ ।

कक्षाकोठामा बसेर पढ्नुको सट्टा, निराशा र डरले भग्नावशेषबाट निस्केर ज्यान बचाउने प्रयास गर्न बाध्य छ लाख ५० हजारभन्दा बढी बालबालिकाले सिकाइ तथा शिक्षाको अधिकारसमेत गुमाउँदै गएको उनले बताए ।

हमास आक्रमण

गत वर्षको यहि दिन बिहान गाजाबाट इजरायलमा अचानक ठूलो हमला भएको थियो।

गाजा पट्टीमा शासन गर्ने चरमपन्थी समूह हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको थियो।

हमासले यस अपरेशनलाई ‘अल अक्सा स्टर्म’ नाम दिएको थियो। हमासले अपरेशन अल अक्सा फ्लडको सुरुवात घोषणा गर्दै दुश्मनको लक्ष्य, एयरपोर्ट र सैन्य आधारहरूमा हाम्रो पहिलो आक्रमणमा, पाँच हजार भन्दा बढी रकेटहरू प्रहार गरेको जनाएको थियो।

यस क्रममा गाजाबाट इजरायलमा भएको अचानक आक्रमणमा दर्जनौं चरमपन्थी गाजा पट्टीबाट इजरायलमा प्रवेश गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: