जिल्ला समन्वय समिति कास्कीले गर्‍यो कृषिका समस्याबारे छलफल

Share:

पोखरा। जिल्ला समन्वय समिति कास्कीले कृषि तथा पशुपालन क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सोमबार सम्पन्न कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गरेका थिए।

कृषक र कृषि क्षेत्रका समस्याहरूको पहिचान सहित समाधान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको पौडेलले बताए। पहिचान भएका समस्या समाधानहरुमा राज्यका सरोकारवाला निकायले केन्द्रित हुनुपर्ने उनको भनाई थियो।

कृषिमा आत्मनिर्भर हुने कार्यक्रम अति जरूरी रहेको अवस्थामा प्रविधि र समयको उचित प्रयोगसहित वास्तविक किसानसम्म पुग्ने कार्यक्रम बनाउन सबै सरोकारवाला निकायलाई पौडेलले आग्रह गरे।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका धितालका कृषक नवीनराज अधिकारीले कार्यक्रम प्रभावकारी भएको भन्दै कतिपय पालिकास्तरका कार्यक्रम वास्तविक लक्षित कृषकसँग नपुगेको भन्दै दुखेसो पोखे। उनले उत्पादनदेखि बजारीककरणका समस्याले कृषक पिडित हुनु परेको भन्दै त्यसको समाधानमा ध्यान दिन आग्रह गरे।

कृषकहरूलाई पर्याप्त तालिम तथा जानकारीको अभावले व्यवसायिक कृषिमा समस्या भएको अर्का कृषक बृजलाल चौधारीको भनाई छ। कृषिमा आवद्ध कार्यालयहरूका सुचना आफुहरूको पहुँचमा नभएको भन्दै वास्तविक किसान मारमा परेको दाबी गर्दै अनुदान समेत कृषकको पहुँचमा नहुँदा कठिनाइमा भईरहेको उनले बताए।

यस्तै, पोखरा महानगरपालिका २२ का अर्का कृषक देवीलाल बरालले बाली र नश्ल सुधारमाकेन्द्रित हुँदै बाली तथा पशुमा लाग्ने रोग अर्को मुख्य समस्या भएको उल्लेख गरे। बादर आतंक र बाली तथा नश्लको समस्यामा केन्द्रित हुन उनले अनुरोध गरे।

कार्यक्रममा कृषक रामकृष्ण लामिछानेले भैसी तथा पाडा/पाडी अनुदान सम्बन्धि व्यवस्था बैज्ञानिक नभएको भन्दै उन्नत जातका नश्ल उत्पादनका कार्यक्रम व्यवसायिकतामा मात्रै केन्द्रित हुनु दु:खद भएको जिकिर गरे।

यसैबिच कृषक दुर्गा बहादुर क्षेत्रीले किसानले बाली जोगाउन र पशुपालकले पशु जोगाउन मुश्किल परेकोतर्फ राज्यका निकाय गम्भीर हुनुपर्ने उल्लेख गरे।

एग्रो टुरिजम सहकारीका अध्यक्ष डिल्लीराम बरालले कृषि क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने खालका कार्यक्रम आवश्यक रहेको बताए। कृषि पर्यटनलाई सँग-सँगै अगाडि बढाउँन सके मात्रै नीति तथा कार्यक्रम थप प्रभावकारी बनाउन सकिने उनले बताए।

कृषि बीमा समेत प्रभावकारी बनाउन आग्रह गर्दै बरालले बीमा सचेतना कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने उनको भनाई थियो। यस्तै, आइ भी आइ पोटेनसियल इन्स्युरेन्स पोखराका प्रतिनिधि नवराज पौडेलले बीमाका नीति नियम र कानुनले साथ दिएका बिषयमा बीमाले भुक्तानी गरिरहेको दाबी गरे।

खाद्य व्यवस्था गुणस्तर कार्यालय पोखराका प्रमुख रन्जना केसीले न्युनतम समर्थन मुल्यमा कृषकका उत्पादन आफूहरूले खरिद गरिरहेको भन्दै दीर्घकालिन मौज्दात रहने खाद्यान्नको न्युनतम समर्थन मुल्यमा खरिद गरिने उल्लेख गरिन्।

यस्तै, पोखरा महानगपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले कृषि क्षेत्रमा जिसस कास्कीले गरेको समन्वयात्मक भूमिका उल्लेखनीय रहेको भन्दै यसले उचित प्रतिफल दिनेमा आफु विश्वस्त भएको उल्लेख गरे।

कृषि क्षेत्रमा राज्यका सबै तहले न्यून बजेट विनियोजित गर्दा काम प्रभावकारी हुन नसकेको उल्लेख गर्दै आगामी वर्षबाट बजेट वृद्धि गर्नेतर्फ ध्यानाकार्षण गराए।

कडरियाले सहुलयित दरको ऋण उपलब्ध हुने वातावरण निर्माणमा जुट्न आग्रह गर्दै कृषिको नीतिगत झन्झटका कारण पनि व्यवसायिकताको विकासमा अप्ठ्यारो भईरहेको बताए। उनले सरकारले चलाएको किसान शुद्धिकरण अभियान प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

यसैगरी जिल्ला समन्वय समिति कास्कीका सदस्य राजु अधिकारीले भैरहेका सकारात्मक कार्यक्रमको समिक्षा सहित आगामी वर्ष परिमार्जित नीति कार्यक्रम लागु गर्न सबै पालिकाहरूलाई आग्रह गरे।

कमेन्ट गर्नुहोस्
Share: