
पोखरा। बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा बयानका लागि रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबार तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा लिखित बयान लिइँदै छ।
बिहान सवा १० बजेबाट भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेको बयान लिइरहेको छ। जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलले बिहान कार्यालय खुलेसँगै बयान लिएर सक्ने तयारी रहेको बताए। बयान सकिए लामिछानेलाई आजै कास्की ल्याइने रूपन्देही प्रहरीले जनाएको छ।
मंगलबार कास्कीको पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालयले मंगलबारदेखि नै नियमित बयान लिइरहेको छ।
लिखित बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृतलगायतको सहभागिता छ। बयानका आधारमा पूरक प्रतिवेदन बनाउने प्रहरीको तयारी छ।
