नेपालका लागि फ्रान्सकी राजदूत र पोखरा महानगर प्रमुख आचार्यबीच भेतवार्ता

Share:

पोखरा। नेपालका लागि फ्रान्सकी राजदूत Virginie CORTEVAL ले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच भेटवार्ता भएको छ। पहिलो पटक पोखरा आएकी राजदूत कोर्टेभल र नगर प्रमुख आचार्यबीच दुईपक्षीय हितका विषयमा छलफल भएको छ।

विशेष गरी अन्नपूर्ण हिमाल आरोहणको ७५ औँ वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताए। फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी पर्वतारोहणको इतिहास कोरेका थिए। त्यसको तीन वर्षपछि मात्रै सगरमाथा आरोहण गरिएको इतिहास छ।

हर्जोगले अन्नपूर्ण-१ (प्रथम) हिमालको सफल आरोहण गरेको आज ७४ वर्ष पुरा भएको छ। सन् २०२५ मा हिमाल आरोहणको ७५ औँ वर्षगाँठमा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको भेटवार्तामा राजदूत कोर्टेभलले बताइन्। हर्जोगले उनका सहयात्री लुई लिचेनेलसँग सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम पहिलो पटक आरोहण गरेका थिए।

भेटवार्तामा अन्नपूर्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको जियोलोजिकल सर्भेका लागि प्राविधिक सहयोग सहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बीचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहोर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुई पक्षीय पर्यटन प्रवर्द्धन तथा विकासमा सहकार्य गर्ने लगायतका विषयमा पनि छलफल भएको छ।

भेटवार्तामा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको समेत सहभागिता रहेको थियो। पोखरा महानगरपालिका फ्रान्स सरकारसँग सहकार्यमा अन्नपूर्ण सफाइ अभियानदेखी समग्र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न तत्पर रहेको नगर प्रमुख आचार्यले बताए।

यस्तै जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीसँग पनि महानगरपालिकाका प्रमुख आचार्यले भेटवार्ता गरेका छन्। सांसदहरू याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेइ ताकाकुराको नेतृत्वमा जापानका १६ जना व्यवसायीहरूको टोलीले नगर प्रमुख आचार्यसँग भेटवार्ता गरेको हो।

भेटवार्तामा नगर प्रमुख आचार्यले पोखरा र जापानका बिचमा निकै लामो समयदेखी श्रम तथा प्रविधिको आदानप्रदान हुँदै आइरहेको बताए। पोखरामा जापान सरकारको तर्फबाट निकै महत्त्वपूर्ण परियोजनाहरू सञ्चालनमा रहेको जनाउँदै भविष्यमा समेत सञ्चालन गर्ने गरी कयौँ दूरगामी महत्वका परियोजनाहरूमा समझदारी भएको उल्लेख गरे।

जापानमा रोजगारी तथा अध्ययनका सिलसिलामा ठुलो सङ्ख्यामा पोखरेली नागरिकहरू गएको र त्यहाँ उनीहरूले राम्रो उपलब्धि हासिल गरिरहेको उनले बताए।

पछिल्लो समय पोखरा महानगरपालिकाले दक्ष जनशक्ति तयार गर्न आवश्यक भाषा तथा सीपमूलक तालिमका कक्षाहरू सञ्चालन गरेको उनको भनाई छ।

विभिन्न साझेदारहरूसँगको सहकार्यमा भाषा तथा सीप विकासका कक्षाहरू सञ्चालन गरिएको जनाउँदै नगर प्रमुख आचार्यले जापान नेपाली श्रमिक तथा विद्यार्थीहरूका लागि समेत आकर्षक गन्तव्य बनिरहेको उनले बताए।

जापानी टोलीले जापानमा केयर गिभरका लागि श्रमिकहरू अभाव रहको जनाउँदै सीपयुक्त जनशक्ति भए आफूहरू त्यसमा आवश्यक प्रक्रिया अगाडी बढाउन तयार रहेको जनाएको छ।

जापानमा ज्येष्ठ नागरिकहरूको हेरचाह केन्द्र सञ्चालन गरिरहेका उनीहरूले नेपाली श्रमिकहरूको आतिथ्ययताले निकै प्रभावित भएको भन्दै त्यसमा आफूहरू थप श्रमिकहरू लैजान इच्छुक रहेको बताएको छ।

टोलीमा जापानका चार जना सांसदहरू सहित १६ जनाको सहभागिता रहेको थियो। सो क्रममा दुई पक्षीय पर्यटन विकास, मितेरी सम्बन्ध र प्रविधि आदान प्रदान लगायतका विषयमा पनि छलफल भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: