
पोखरा। नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवमा दर्शकहरुको उल्लेख्य उपस्थिति देखिएको छ। बिहीबार साँझ दर्शकको उपस्थिति बक्लिएको थियो। आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बिहीबार साँझसम्म पनि टिकट काटेर महोत्सवस्थलमा दर्शक आउने क्रम जारी रहेको बताए।
महोत्सवमा आज कलाकार रचना रिमालको सांगीतिक प्रस्तुती रहेका कारण साँझसम्म पनि दर्शकहरुको उपस्थिति रहेको उनले बताए। कलाकार रचना रिमाल साँझ ६ बजेतिर स्टेजमा उक्लिएर गीत सांगीतिक प्रस्तुती राखेकी थिइन्।
उनले फोटो फिरिममा, सम्झिने पानी छम्किने, मिनिरल वाटर, उनको प्रिति पहिले हो कि मेरो प्रिति पहिले लगायतका चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिइन्। आज महोत्सवमा दीपक खड्का, यम आले मगर, सञ्जिव सिंह रानासहित स्थानीय कलाकारले प्रस्तुती राखेका थिए।
आजको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै उनले स्थानीय स्तरमा हुने महोत्सवको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्ने बताए।स्थानीय महोत्सवले अर्थतन्त्र चलाएमान बनाउन मद्दत गर्ने हुँदा स्थानीय उत्पादनलाई प्राथमिकता दिनसमेत उनले सुझाव दिए।
भोलि शुक्रबारको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी दिए। शर्माको साथमा अन्य स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने उनको भनाइ छ।
दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृब्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिए।
गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनको दाबी छ। कात्तिक २६ गते सुरु भएको महोत्सव मंसिर १० गतेसम्म सञ्चालन हुनेछ।
एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए।
रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइने समेत उनको भनाइ छ।
