
काठमाडौँ। फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले सर्वाधिक कमाउने नेपाली फिल्मको इतिहास बनाएको छ। फिल्मले प्रदर्शनको १४ औँ दिन बुधबारसम्म देशव्यापी २७ करोड रुपैयाँ कमाएको छ।
फिल्मले यसअघि धेरै कमाउने फिल्ममा नाम लेखेको ‘कबड्डी ४’को रेकड समेत तोडेको हो। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबार मात्र २७ करोड रुपैयाँ कमाएको बताएको छ।
नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमा समेत निस्किएको छ।
निर्माता विनोद पौडेलले आजदेखि पूर्वबाट शुरु हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिए।
“हामी गाईघाटबाट भ्रमण शुरु गर्दैछौँ, ग्रामीण भेगका चलचित्र भवनमा पुगेर त्यहाँका दर्शकलाई धन्यवाद दिनेछौँ, उहाँहरुको मायाले हामी मात्र नभइ नयाँ निर्मातालाई पनि हौसला मिलेको छ”, निर्माता पौडेलले भने।
उक्त भ्रमणमा निर्माता पौडेलसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन्। यो चलचित्रले एकै दिन रु तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको छ।
