गण्डकी प्रदेश सांसद स्वर्गीय गौचनको अन्त्येष्टी मंसिर २ गते हुने

257
0
Share:

पोखरा। डेंगुको कारण ज्यान गुमाउन पुगेकी गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनको आगामी मंसिर २ मा अन्त्येष्टी हुने भएको छ। उपचारका क्रममा काठमाडौँको ग्राण्डी अस्पतालमा गए मध्यराती गौचनको मृत्यु भएको थियो।

प्रतिनिधिसभा सदस्य समेत रहेका म्याग्दी कांग्रेस जिल्ला सभापति खम्बिर गर्बुजाले मंसिर २ मा गौचनको अन्त्येष्टी गर्ने तयारी भइरहेको बताए।

‘अमेरिकामा रहेका छोरा शुक्रबार दिउँसो आउँदै हुनुहुन्छ’, गर्बुजाले टेलिफोनमा ढोरपाटनसंग भने, ‘शनिवार अन्त्येष्टी नगर्ने भन्ने कुरा छ। त्यसैले आगामी आइतबार अर्थात् मंसिर २ मा म्याग्दी सदरमुकाम बेनी पुराएर शवको अन्त्येष्टी गर्ने योजना छ।’

काठमाडौँबाट शवलाई हेलिकोप्टरमार्फत गण्डकी प्रदेश सभा सचिवालयमा पुराई श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि बेनी लैजाने उनले बताए।

गण्डकी प्रदेश सभाका सचिव हरिराज पोखरेलले स्वर्गीय गौचनको शव ल्याउनका लागि हेलिकोप्टरसँग कुराकानी भइरहेको बताए। गौचनका देवर नाता पर्ने मुस्ताङ कांग्रेसका नेता रोमी गौचन थकालीले अमेरिकाबाट छोरा आएपछि आवस्यक छलफल गरी शवको अन्त्येष्टी गरिने बताए।

डेंगु लागेर काठमाडौँस्थित घरमै आराम गरिरहेका बेला केही असहजता भएपछि बुधवार राती अस्पताल पुराइएकोमा हृदयघात भइ उनको मृत्यु भएको थियो।

५ वर्षअघि सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गौचन कांग्रेसबाट उम्मेदवार बनेर पराजित भएकी थिइन्। २०७९ को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेकी उनी कांग्रेसबाट प्रदेश सांसद चुनिइन्। काग्रेसबाट ९ समानुपातिक सांसद निर्वाचित भएकोमा गौचन एक थिइन्।

म्याग्दीको बेनी नगरपालिका-८ निवासी ६३ वर्षीया गौचनको २०१८ मंसिर १८ मा मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङमा जन्म भएको थियो। उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ म्याग्दीको पूर्व सभापति थिइन्।

उनका एक छोरा र एक छोरी छन्। छोरा अमेरिकामा रहेका र छोरी भने आमासंगै रहदै आएकी थिइन्। गौचनका श्रीमान् राम गौचनको २०६४ मा निधन भएको थियो।

होटल तथा रेष्टुराँ व्यवसायी संघ म्याग्दीकी पूर्व अध्यक्ष गौचनको सदरमुकाम बेनीमा ३० वर्षदेखि यति होटल संचालनमा छ। सधै हँसिलो मुहार, निर्धक्कसाथ बोल्ने, केही गर्नुपर्छ भन्ने हुट्हुटी भएकी र मेहनत गर्नुपर्छ भन्ने भावना गौचनमा थियो। ‘साह्रै मिलनसार हुनुहुन्थ्यो’ सभापति गर्बुजाले भने, ‘पार्टीले एक सक्रिय कार्यकर्ता गुमाएको छ।’ उनी यही भदौ २ र ३ गते मुस्ताङकै दामोदर कुण्ड पुगेका बेला लेक लागेर बिरामी परेकी थिइन्। नेपाली सेनाले उनको उद्धार गरेको थियो।

कात्तिक १० गतेमात्रै गण्डकी प्रदेशसभाको अर्थ तथा बिकास समितिले आयोजना गरेको कालीगण्डकी करिडोर र कोरला नाकाको स्थलगत अनुगमन तथा निरीक्षणमा गौचन पनि सहभागी भएकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: