समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो: पूर्वप्रधानमन्त्री प्रचण्ड

167
0
Share:

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद थोपरेर नआउने बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले समाजवाद आफ्नो आर्थिक, सामाजिक, भौतिक परिवेशअनुसार जगबाटै उमार्नुपर्ने बताएका छन्।

सोमत घिमिरेले लेखेको पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद अरु देशको नक्कल गर्ने विषय नभएको बताए।

उनले भने, ‘समाजवाद नक्कल गरेर आउँदैन। कुनै पार्टी विशेषले दस्तावेजमा लेखेर आउँदैन। यसलाई त आफ्नो परिवेशअनुसार, उत्पादन पद्धतिबाट, समाज, भूगोल, संस्कृति, अर्थतन्त्रका ऐतिहासिकताबाट समाजवाद उमार्ने हो।’

उनले नेपाल कुनै बेला विदेशमा खाद्यान्न निर्यात गर्ने देशका रूपमा चिनिए पनि विगत ५०/६० वर्षको राजनीतिले हरेक क्षेत्रमा परनिर्भर बन्नुपर्ने अवस्था आएको बताए।

हरेक विषयको नक्कल गरेर होइन, हाम्रै विशेषता र इतिहास अनि अहिलेको विज्ञान प्रविधिलाई प्रयोग गरेर आधुनिक समाजवादको निर्माण गर्नुपर्ने प्रचण्डले बताए।

विश्वमा अहिले पनि समाजवादबारे तीन धारणा रहेको उनले बताए। उनले भने, ‘एउटा विशुद्ध सिद्धान्तवादी धर्मशास्त्रको रूपमा बुझ्ने। दोस्रो, अनुभववादी तरिकाले हेर्ने र तेस्रो, व्यवहारवादी धारणा। त्यसमध्ये म तेस्रो धारमा पर्छु।’

कमेन्ट गर्नुहोस्
Share: