दावा छिरिङको ‘टासिदेले कनकाई’ पोखरामा विमोचन

Share:

पोखरा। नगेन आर्ट एकेडेमी तथा पर्फेक्ट प्रिन्टिङ सोलुसनको संयुक्त आयोजनामा झापाका साहित्यकार शेर्पा दाबा छिरिङको कृति ‘टासिदेले कनकाई’ को बिहीबार पोखरामा विमोचन गरिएको छ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले पर्यटकीय राजधानी पोखरामा साहित्यिक गतिविधिले साहित्यिक पर्यटनको पनि विकासमा टेवा पुग्ने बताए।

उनले साहित्यकार सधैँ सरकारको विपक्षी भएकोले सधैँ जनताको समस्यालाई आफ्नो साहित्यमार्फत उजागर गर्दै सरकारलाई सचेत पार्ने बताए।

सो अवसरमा विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानका महाअभियान्ता प्राज्ञ नगेन सिंह ठकुरीले वार्षिक एक करोड पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिरहेको उनको भनाई छ।

कृतिका रचनाकार शेर्पा दाबा छिरिङले सोचले आयू निर्धारण हुने, आयूअनुसार कर्म निर्धारण हुने भन्दै आफ्नो कृतिमा सोही विषय समावेश गरिएको बताए।

कृतिको समीक्षा गर्दै कसरी पढ्ने कसरी सिक्नेका लेखक कृष्ण क्षेत्री उदयले श्रष्टाले कवितामार्फत कोशी प्रदेशको जनजीवन, रहनसहन र जनताले भोगेका वास्तविकता उजागर गर्नुका साथै साहित्यबाट नै समाज सुधारमा उल्लेखनीय भूमिका खेल्ने बताए।

मानवता अभियानका प्रमुख मानवता सेवक द्वारीका मानवले कला र साहित्यले सबै नेपालीलाई मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा मानव समुदायलाई एकताको शुत्रमा बाध्न सकिने सुनाए।

कार्यक्रममा सप्तकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रुकमणि घले, सुमिरा इको एग्रो टुरिज्म एण्ड एभियसनकी निर्देशक मीरा अधिकारी, वेभपेज नेपालका प्रितम सेन, पूर्व प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठ, बराह एजुकेशन कन्सल्टेन्सीका प्रमुख सन्तोष कुइँकेललगायतले बोलेका थिए।

पर्फेक्ट प्रिन्टिङ सोलुसन सञ्चालक कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पर्फेक्ट एकेडेमीका कार्यकारी निर्देशक नवीन श्रेष्ठले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: