
काठमाडौँ। मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनि) र राजीव महर्जन (मौनी) को उम्मेदवारी घोषणा भएको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिङ्गी महिला हनि र वडा नं ४ को वडा अध्यक्षमा मौनीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनि मेयर र मौनी वडा अध्यक्ष पदमा उम्मेदवार बन्न सफल भएका हुन्।
मायाको पहिचान नेपालले राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिता र प्रतिनिधित्वबारे गरेको छलफलमा हनि र मौनीले उम्मेदवार बन्ने चाहना व्यक्त गरेका थिए।
उनको चाहना पुरा गर्न मायाको पहिचान नेपालले जसपा नेपालको कार्यालयमा पुर्याएर उम्मेदवार बनाउन आग्रह गर्दा स्वीकार भएको सचिव सुरेन्द्र पाण्डेले जानकारी दिए।
मायाको पहिचान नेपालको कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर हनि र मौनीले उम्मेदवारी घोषणा गरे।
