
पोखरा। अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजना र पोखरा महानगरपालिका वडा नम्वर १५ को समन्वयमा मंसिर १७ देखि २७ गतेसम्म हुन गईरहेको ऐतिहासिक शुक्लागण्डकी कोटीहोम २०८१ को तयारी तिव्र पारिएको छ। तयारीकै अवसरमा पोखरा महानगरपालिका वडा नम्वर १५ ले वडा भेला सम्पन्न गरेको छ।
भेलाको सम्बोधन गर्दै वडा नम्वर १५ का वडाध्यक्ष तोरण बहादुर बाँनियाले वडा कार्यालयको तर्फबाट कोटीहोम सफल बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताए। उनले वडाको तर्फबाट तन, मन, धन, बचन र कर्मले कोटीहोममा होमिने प्रतिवद्धता जनाए।
पण्डित दिपक सापकोटाले कोटी होम सफल भईसकेको उदाहरण भेलाको सहभागितालाई दिए । विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय सह-अध्यक्ष शंकर खरालले हिन्दु जागरणका साथै आफ्नो ठाउँको विकास र त्यसको महत्व बुझेर काम गर्न आग्रह गरे।
उनले महायज्ञमा विश्व हिन्दु महासंघको भरपुर साथ रहने बताए। कार्यक्रममा पूर्ववडाध्यक्ष प्रकाश पौडेलले जनसहभागितालाई जोड दिनुपर्ने बताए।
संकल्पकर्ता शोभाकान्त ढकालका धर्मपत्नी नारायणी ढकाल, विश्वकर्मा समाज नेपालका केन्द्रिय अध्यक्ष रणाबहादुर विश्वकर्मा, समाजसेवी डाक्टर अनिल सुवेदी, भक्तबहादुर खत्री, आदर्श आमा समुहका अध्यक्ष कल्पना अधिकारी, शितलादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनकाजी कार्की, अलकापुरी आमा समुहका सुनिता कडेँल लगायतले भेलामा बोलेका थिए।
