सिद्धीका रामजी चेपाङलाई ग्रीनल्याण्डले आवाससहित नि:शुल्क पढाउने

Share:

पोखरा। ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरले सिद्धीका एक चेपाङ विद्यार्थीलाई आवाससहित निःशुल्क पढाउने भएको छ।

स्कुलले कालिका नगरपालिका-१० छेरवाङका रामजी चेपाङलाई कक्षा ११ र १२ मा बायो साईन्स पढाउने भएको हो। आर्थिक अवस्था निकै कमजोर भएको कारण रामजीलाई स्कुलले निःशुल्क पढाउने निर्णय गरेको प्राचार्य ईन्दिरा कार्कीले बताइन्।

स्कुलले कक्षा ११ र १२ मा निःशुल्क तथा दुई वर्षको आवासको जिम्मा प्राचार्य कार्कीले लिइन्। रामजीलाई कक्षा ११ र १२ मा अध्ययनका क्रममा लाग्ने आवसको सम्पूर्ण व्यवस्थापन आफूले गर्ने प्राचार्य कार्कीले बताइन्।

स्कुलले केही समयअघि मात्रै सिद्धीमा यो घोषणा गरेको थियो। सोही अनुरुप रामजीलाई आज (आइतबार) विद्यालयमा उपस्थित गराएर उनको अध्ययनको व्यवस्थापनको काम सुरु गरिएको उनको भनाई छ।

‘हामी एउटा सहयोग लिएर सिद्धी पुगेका थियौँ। सोही समयमा त्यहाँका विद्यार्थीहरुको अवस्था देखेर हामी भावुक भयौँ। एक जनालाई हामीले ११ र १२ निःशुल्क पढाउने बाचा गरेका थियौँ। आज त्यो बाचा पुरा गरेका छौँ’, प्राचार्य कार्कीले भनिन्।

आर्थिक अवस्था कमजोर भएकै कारण रामजी जस्ता विपन्न विद्यार्थी शिक्षाबाट बन्चित हुन नहुने उनको भनाइ थियो। उनले सबैले सहयोग गरे यस्ता विपन्न होनाहार विद्यार्थीहरुले शिक्षा पाउने बताइन्।

‘आर्थिक अवस्था नाजुक भएकै कारण यस्ता विद्यार्थीहरु शिक्षाबाट बन्चित हुनुहुन्न। सबैले सहयोग गर्न जरुरी छु’, उनले भनिन्।

रामजीले हालै मात्र श्री राष्ट्रिय मावि मजवाङबाट २.८ जिपिएसहित एसईई उत्तीर्ण गरेका हुन्। उनले सिद्धीस्थित चेपाङ सिद्धी छात्राबासमा बसेर एसईईसम्म अध्ययन गरेका हुन्।

त्यहाँबाट चार जना विद्यार्थीले एसईई उत्तीर्ण गरेको छात्रावासका संस्थापक अध्यक्ष भरत चेपाङले जानकारी दिए। ती मध्य रामजीले उत्कृष्ट नतिजा ल्याएको उनले बताए।

रामजीलाई आवाससहित निःशुल्क पढाउने ग्रीनल्याण्डको निर्णयले चेपाङ समुदायलाई नै खुशी बनाएको उनको भनाइ थियो। उनले स्कुल परिवार र प्राचार्य कार्कीलाई धन्यवाद व्यक्त गरे।

रामजीले आफूले चाहेको बिषय निःशुल्क पढ्न पाउँदा खुशी लागेको बताए। यसलाई आफ्नो जीवनको नयाँ सुरुवातको रुपमा लिएको उनको भनाइ थियो।

निःशुल्क अध्ययन र आवासको व्यवस्थापनका लागि उनले स्कुल र प्राचार्य कार्कीलाई धन्यवाद व्यक्त गरे। यो अवसरलाई सदुपायोग गर्दै मेहेनत गरेर अध्ययन गर्ने उनको भनाइ थियो।

रामजीलाई निःशुल्क अध्ययनका लागि समाजसेवी रत्ननगर १० निवासी ज्ञानेन्द्रराज पाण्डेले सहजिकरण गरेका थिए। स्कुलले गत बाल दिवसमा छात्रावासका ६४ जना विद्यार्थीलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको थियो। सोही क्रममा रामजीलाई निःशुल्क पढाउने घोषणा भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: