महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने

Share:

काठमाडौँ। आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।

पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ। उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको जानकारी दिए। उनका अनुसार १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य छ।

उनले भने, ‘१७ लाख किशोरीहरुलाई खोप लगाउने अनुमान गरेका छौँ। सम्पूर्ण विद्यालय र स्वास्थ्य केन्द्रहरु खोप केन्द्रको रुपमा प्रयोग हुने छन्। यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउँछ।’

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार १८ हजार नौ सय विद्यालयमा खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहनेछन् भने २७ हजार ८० जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन्।

उक्त अभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक खटाइनेछ। १५ हजार छ सय ७४ सुपरिवेक्षकहरु संलग्न हुनेछन्।

कमेन्ट गर्नुहोस्
Share: