
पोखरा। आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी कर दिवस सम्पन गरेको छ। कार्यालयले शुक्रबार कर सप्ताहको सातौँ दिन समापन समारोहको आयोजना गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पर्यटन प्रर्वद्धनमा स्थानीय प्रशासनले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले पोखरा पर्यटकीय क्षेत्र भएकोले यसको विकासमा निजि क्षेत्रसँग सहकार्य गर्ने समेत बताए।
यसैगरी, कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सेवा प्रवाहलाई थप सहज बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताए।
उनले आर्थिक ऐन, २०८१ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागी अनुरोध समेत गरे। छुट सुविधा सधै नआउने भएकले यहीँ फागुनभित्र सुविधा लिन उनको आग्रह थियो।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्श लगाएतका व्यवसायीक संघ संगठनका प्रतिनिधीहरूले आर्थिक अवस्था कमजोर रहेको अवस्थामा राज्यले निजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता टेम्पल ट्रि रिसोर्ट प्रालिलाई सम्मान गरिएको थियो। टेम्पल ट्रिले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व दाखिला गरेको छ।
यसैगरी कार्यक्रममा करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्ट्रक्सन प्रालिलाई पनि सम्मान गरियो।
कर सप्ताह कार्यक्रम अन्तर्गत मध्यमस्तरीय कर कार्यालय, बबरमहल, काठमाडौँले उद्योग व्यापार, लगानी प्रर्वद्धन र कर सचेतना सम्बन्धी विषयमा आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा द्वितीय हुने गण्डकी बोर्डिङ स्कुल कक्षा ११ मा अध्यनरत छात्रा आत्मिका सुवेदीलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका उत्कृष्ट कर्मचारी नायब सुब्बा हरिश्चन्द्र पौडेललाई सम्मान गरिएको छ। यस्तै, करदाता सेवा कार्यालय पुतलीबजार स्याङ्जाका नायव सुव्वा देवश्री त्रिपाठीलाई सम्मान गरिएको थियो।
‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८१ मंसिर १ देखि ७ गते सम्म विभिन्न कार्यक्रम गरी मनाइएको थियो। कर सप्ताहकै सन्दर्भमा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुबिच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
कर कानून तथा कर छुट सम्बन्धी जानकारी सहितको कर पुस्तिका वितरण गरिएको छ। कास्कीका विभिन्न क्षेत्रहरूमा आर्थिक ऐनले दिएका छुट सुबिधाहरु तथा अन्य कर सम्बन्धि जानकारी मूलक सन्देश माइकिङ समेत गरिएको छ। आर्थिक ऐनले गरेका व्यवस्था र छुटसुविधाका विषयमा करदातालाई जानकारी गराउने गरी जनचेतना कार्यक्रम सम्पन्न भएका छन्।
आर्थिक ऐनले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आब २०७९ र०८० सम्मको विवरण बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्यअभिबृद्धि कर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्तसम्म छुट सुविधा दिने व्यवस्था गरेको छ।
हाल आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरमा ६८ हजार १ सय ९६, मूल्य अभिबृद्धि करमा १२ हजार ४ सय २४, अन्तःशुल्कमा ४ हजार ५ सय १४ करदाता दर्ता भएका छन्।
१ लाख ९० हजार ३ सय ९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् भने इटिडिएस गर्ने प्रयोजनार्थ ५ सय २५ कार्यालयले विथहोल्डी स्थायी लेखा नम्बर लिएका छन्। आन्तरिक राजस्व कार्यालय पोखरामा कूल २ लाख ५९ हजार ३० जना करदाता रहेका छन्।
