
पोखरा। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रतिनिधिहरुले पोखरा रंगशालास्थित पोखरा क्रिकेट खेल मैदानको निरीक्षण भ्रमण गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहित पोखरा आएको आइसिसीको टोलीले सन् २०२७ मा हुने महिला विश्वकपका लागि पोखरा रंशगालाको क्रिकेट खेल मैदान निरीक्षण गरेको हो।
टोलीमा आइसिसीका सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजनका डेभलप्मेन्ट म्यानेजर मोहमद इमान्युल इस्लाम छन्। आईसीसी टोलीले पोखरा क्रिकेट खेल मैदानमा विश्वकप क्रिकेट प्रतियोगिता सञ्चालनका लागि रहे पनि आवश्यक पूर्वाधारका लागि सरकारका तर्फबाट निर्माणको प्रतिबद्धता खोजेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए।
उनले भने, ‘पोखरा महिला विश्वकप क्रिकेटका लागि योग्य रहे पनि आवश्यक पूर्वाधार निर्माण हुनुपर्नेमा उहाँहरूको जोड रहेको छ। खेल पूर्वाधार निर्माण गर्न सकेमा पोखरामा विश्वकप सम्भव हुन्छ भन्नुभएको छ।’
सो टोलीले आजनै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापासँग भेट गरेका छन्। भेटमा मन्त्री थापाले प्रदेश सरकार विश्वकपको खेल पोखरामा गर्न आतुर रहेको जनाउँदै सरकारकोतर्फबाट सहयोग गर्ने बताएका थिए।
पोखरा महानगर प्रमुख (मेयर) धनराज आचार्यले महानगरको तर्फबाट गर्नुपर्ने कार्यका लागि आफू तयार रहेको प्रतिबद्धता जनाए। प्रमुख आचार्यले आईसीसीका प्रतिनिधिलाई विश्वकपका लागि के-के पूर्वाधारको आवश्यकता पर्ने हो त्यसबारेमा जानकारी गराउनसमेत आग्रह गरे।
