
पोखरा। चर्चित टिकटकर गिभिना मगरलाई शोकमाथि शोक परेको छ। उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको हो ।
याम्दीमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए। जेब्रा क्रस गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको हो ।
आमाको निधनपछि विक्षिप्त बनेका २६ वर्षीया छोरा (गिभिनाका भाइ) रामकुमार बुढाले आत्महत्या गरेका हुन्।
आमालाई अस्पताल लगेपछि रामकुमारलाई सम्पर्क गर्दा फोन नउठेको र खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेका पोखरा २५ का अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए।
‘दुर्घटना भएपछि सबैलाई सम्हालेर सुत्न पठाएका रहेछन्। अरू गएपछि सुसाइड गरेका रहेछन्,’ उनले भने, ‘एकपछि अर्को घटना भयो। पीडादायी अवस्था बन्यो।’
गिभिना आर्थिक सहयोग जुटाएर असहाय र विपन्नलाई सहयोग गर्दै आएकी थिइन्। पूर्वी रुकुम घर भएका गिभिनाको परिवार अहिले पोखरा २५ याम्दीमा बस्दै आएका थिए।
