विन्ध्यवासिनीका पुर्व प्रधानाध्यापकलाई सम्मानसहित विदाई

Share:

पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरका पुर्व प्रधानाध्यापक एवं शिक्षक खिमलाल अधिकारीलाई सम्मानसहित विदाई गरिएको छ।

करिव ३८ वर्ष लामो शिक्षण पेशामा आवद्ध अधिकारीले अनिवार्य अवकास पाउनुभन्दा एक वर्ष अघि नै स्वेच्छिक अवकास लिएका हुन्। विद्यालयले बिहीवार एक कार्यक्रमकाविच माध्यमिक तह प्रथम श्रेणी, अंग्रेजी विभागका प्रमुख अधिकारीलाई सम्मान सहित विदाइ गरेको छ।

सो विद्यालयमा लामो समय अध्यापन गराएका पोखरा-१६, निवासी अधिकारीलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, पुर्व अध्यक्ष नरनाथ भट्टराइ, गोविन्द बहादुर वस्नेत, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेलले मायाको चिनोसहित दोशल्ला ओढाएर विदाई गरे।

कार्यक्रममा वोल्दै समितिका जेष्ठ सदस्य भट्टराइले अवकास पछिको जीवन पनि शिक्षा क्षेत्रमै लगाउन आग्रह गरे। प्रधानाध्यापक आचार्यले विद्यालयको शैक्षिक विकासमा अधिकारीले पुर्‍याएको योगदानको कदर गर्दै  आगामी दिनमा विद्यालयको शैक्षिक विकासमा पनि रचनात्मक सहयोग र सुझावको अपेक्षा राखेको बताए।

सहायक प्रधानाध्यापक रामवहादुर बाँनियाले आफ्नो विज्ञतालाई शैक्षिक क्षेत्रमै लगाउन सुझाव दिए।शिक्षक अधिकारीले विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै शिक्षण पेशावाट अवकास पाए पनि बाचुन्जेल शिक्षा र सामाजिक क्षेत्रमै क्रियाशिल रहने बताए।

उनले देशभरि नै सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुन सफल विद्यालयमा तीन दशक बढी सेवा गर्न पाउँदा आफुलाई गर्व लागेको स्मरण गरे।

विद्यार्थीलाई सपना देख्न अभिप्रेरित गर्दै अधिकारीले लक्ष्यमा पुग्न मेहनत आवश्यक रहेको उल्लेख गरे। सो विद्यालयका भुतपूर्व विद्यार्थी समेत रहेका हालका विज्ञान विभाग प्रमुख सुशील देवकोटाले अधिकारी अंग्रेजी विषयको विज्ञ रहेको बताउँदै, उनको अध्यापन कौशलवाट धेरै कुरा सिक्न सकिने बताए।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतले आफ्ना प्रिय गुरुलाई फुल, अविर र सल दिएर सम्मान गरेका थिए। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भेषराज पौडेलले गरेका थिए। सहभागी विद्यार्थीले पञ्चेबाजा बजाउँदै, आफ्ना प्रिय गुरुलाई निवाससम्मै पुर्‍याएका थिए।

वि.सं. २०४४ सालमा घाचोकको हालको शुक्लागण्डकी माविवाट शिक्षण पेशामा प्रवेश गरेका अधिकारीले वि.सं. २०४६ देखि २०४८ सम्म विन्ध्यवासिनी मावि, २०४९ देखि २०५२ सम्म राष्ट्रिय मावि र त्यसपछि फेरी निरन्तर रुपमा विन्ध्यवासिनी माविमा अध्यापन गराएका थिए।

वि.सं. २०६८ मा विद्यालयको प्रधानाध्यापक समेत बनेका अधिकारीले २०७६ मा काज मिलाएर केही समय कोशी प्रदेशका प्रदेश प्रमुखको स्वकीय सचिव समेत बनेका थिए।

उनले शिक्षण सिकाई र टे«नरका रुपमा कोरिया, जापान, अष्ट्रेलिया लगायतका विभिन्न देशको भ्रमण गरी शैक्षिक अनुभव आदानप्रदान गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: