
पोखरा । कास्कीको लेखनाथको भण्डारढिकमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ विजयी भएको छ।
आदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा स्याङजा जिल्ला फुटबल संघलाई २-० गोलले पराजित गर्दै कास्की जिल्ला फुटबल संघ विजयीे हो।
कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले गोल गरेका थिए।
खेलको पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए, भने सेकेण्ड हाफको ७६ औं मिनेटमा पुन कास्कीकै अनिस तामाङले दोश्रो गोल थप्दै टोलिको जित सुनिश्चित गरे।
अब कास्की फुटवल संघले उद्घाटन खेलमा विजयी भएको आयोजक आदर्श युवा क्लवको टिमसँग सेमिफाईनलमा प्रतिष्पर्धा गर्नेछ।
मंगलवार सेमिफाईनल चरणको अन्तिम खेल नेपाल प्रहरी र एन्फा गोरखाकाविच हुने आयोजक संस्था आदर्श युवा क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए।
अध्यक्ष गुरुङका अनुसार प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ।
विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ।
निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराका साथ आदर्श युवा क्लवले मंसिर २२ देखि २९ गतेसम्म गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकक सौर्य सिमेन्ट रहेको छ।
