
काठमाडौँ। सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा छानबिनका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकार र प्रहरीले ‘अमानवीय व्यवहार गरेको’ भन्दै परेको उजुरीमाथि राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ।
केही दिनअघि चितवनबाट पोखरा लैजान क्रममा अमानवीय तबरबाट मध्यराति लगेको भन्दै रास्वपाका नेताहरुले आयोगमा उजुरी दिएका थिए। सो उजुरीबारे आयोग अनुसन्धान अघि बढाएको हो।
आयोगले सोमबार रविमाथि भएको व्यवहारबारे छलफल गर्न नेपाल प्रहरीका प्रहरीप्रमुख आईजीपी बसन्त कुँवरलाई बोलाएको थियो। तर, कुँवरले आफू नगएर एआईजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डीआईजी दानबहादुर कार्कीलाई पठाएका छन्।
उनीहरुले प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको बयान दिएका छन्। दुर्व्यवहार गरेर चितवनबाट पोखरा लगिएको भन्ने आरोपका बारेमा प्रहरीका उच्च अधिकारीसँगको छलफल पर्याप्त नभएको भन्दै त्यसबारे महानिरीक्षकसँग नै छलफल गर्ने आयोगले तयारी गरेको स्रोतको भनाइ छ।
रविलाई चितवनबाट मध्यराती पोखरा लैजाँदा अमानवीय व्यवहार भएको भन्दै चौतर्फी प्रश्न उठ्न थालेको छ। आजमात्र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लामिछानेमाथि सरकारले गरिरहेको अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गरेका थिए। गत शुक्रबार रविलाई भेट्न नेपाल समाजवादीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई हिरासतमै पुगेका थिए। यता राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि शनिबार रविलाई भेटेका थिए।
