
पोखरा । पोखरामा आज देखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा आजदेखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको हो।
पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको पहिलो खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (सेतो) ले कास्कीको अन्नपूर्ण गाउँपालिका (कालो) लाई ५०–२२ ले पराजित गर्यो।
यस्तै दोस्रो खेलमा कास्कीको अन्नपूर्ण गाउँपालिका (सेतो) ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (सेतो) लाई ४६–४२ अङ्कले पराजित गर्यो।
यस्तै तेस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका कालोलाई ५० –३० पराजित गर्यो।
चौथो खेलमा बेनी नगरपालिकाले कास्कीको मादी गाउँपालिकालाई ५३–२२ ले पराजित गर्यो।
पाँचौ खेलमा पोखरा महानगरपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका सेतोलाई ५३–३५ ले पराजित गर्यो।
छैठौं खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ५०–४३ ले पराजित गर्यो। प्रतियोगिता लिककम नकआउटको आधारमा सञ्चालन भइरहेको छ।
बुधबार पुनः लिगचरणका खेलहरु नै सञ्चालन हुने आयोजकले जनाएको छ।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
महिलातर्फ एक टिमलाई २ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ। विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ।
यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ।
खेलकुदको विकासमा गाउँपालिका लागेको छः अध्यक्ष केसी कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले खेलकुदको विकास गाउँपालिका प्रतिवद्ध रहेको बताए।
प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै उनले यस्तो बताएका हुन्।
‘अन्नपूर्ण गाउँपालिका खेलाडी र खेलकुदलाई प्रोत्साहन गर्न पर्छ भन्ने पक्षमा छ, सबै खेलकुदहरुलाई अगाडि बढाउँदै खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल मैदानमा उत्रने र प्रतिस्पर्धा गर्दै विजयी भएर राष्ट्रको नाम राख्नका लागि गाउँपालिका प्रोत्साहन गर्न चाहान्छ।’ अध्यक्ष केसीले भने।
अध्यक्ष केसीले बास्केटबल प्रतियोगितामा धेरै खेलाडीहरुलाई सहभागिता गराउन प्रतियोगिता पोखरामा सञ्चालन गरिएको बताए।
‘बास्केटबल प्रतियोगिता अन्नपूर्ण गाउँपालिकाभित्र नै सञ्चालन गर्न सकिन्थ्यो’, उनले भने, ‘बास्केटबल प्रतियोगितामा हामीले धेरै भन्दा धेरै खेलाडीहरुको सहभागिता लागि नै पोखरामा यस खेल सञ्चालन गरेका हौं।’
प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले दशौं खेलकुदको लागि मिति तय भइसकेकाले यस खेलले बास्केटबल खेलाडी छनोटमा सहयोग पुग्ने बताए।
‘अन्नपूर्ण गाउँपालिकाले बास्केटल खेलमा नयाँनयाँ खेलाडी उत्पादन गर्ने हेतुले खेल आयोजना गरेको छ’, गुरुङले भने, ‘यस प्रतियोगिताले हामीले दशौ खेलकुद प्रतियोगिताको मिति तय भइसकेकाले खेलाडी छनोटमा समेत सहयोग पुग्नेछ।’
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ।
