
काठमाडौँ । कम्बोडियाको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको दाबी सार्वजनिक गरेका दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ। काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा बुधबार अदालतमा अभियोगपत्र दायर गरेका हुन्
प्रसाईंलाई विद्युतीय कारोबार ऐन-२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा ५ वर्ष कैद र १ लाख जरिवाना गर्न मागदाबी गरिएको छ। सरकारी वकिलले उनलाई दफा (४७) को (२) अनुसार थप सजाय गर्नुपर्ने माग दाबी गरेका छन्।
सो उपदफा अनुसार पटक-पटक साइबर सम्बन्धी कानुन उल्लंघन गर्नेलाई डेढी सजाय हुने कानुनी व्यवस्था छ। सो व्यवस्था अनुसार उनलाई ५ वर्ष र त्यसको डेढी सजाय हुनुपर्ने सरकारी वकिलको माग दाबी छ।
