आँखाबाट आँसु किन बग्छ ?

Share:

काठमाडौँ । आँसु एक अद्भूत प्रक्रिया हो, जसले हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ। जब हामी दु:खी हुन्छौं वा हाँस्छौं,  हाम्रो आँखाबाट आँसु निस्कन्छ। आँसुले आँखालाई हाइड्रेटेड राख्नुका साथै सुरक्षा पनि दिन्छ।

आँखामा कुनै हानिकारक पदार्थ पुगेमा आँसुले त्यसलाई बाहिर निकाल्न मद्दत गर्छ। तर कहिल्यै सोच्नुभएको छ यी आँसु किन खुसी वा दुःखको क्षणमा मात्र आउँछन् ?

आँसु के हो ?

आँसुमा ९८ प्रतिशत पानी र बाँकी २ प्रतिशतमा नुन र अन्य तत्त्व हुन्छ। कहिलेकाहीं आँखाबाट धेरै आँसु निस्कन्छ र ओठमा पुग्छ तब हामीले त्यसको नुनिलो स्वाद पनि महसुस गर्छौं। पानीबाहेक बाँकी २ प्रतिशतमा नुन, तेल, केही भिटामिन र करिब २०० प्रोटिन हुन्छन् । यी तत्त्वहरूले आँखाको कोषिकाहरुलाई पोषण दिन्छ।

हाम्रो आँसुमा पनि इलेक्ट्रोलाइट हुन्छ। तिनीहरूमा पाइने सोडियमका कारण तिनीहरू नुनिलो हुन्छन्।  इलेक्ट्रोलाइटमा मुख्यतया सोडियम, पोटासियम, क्लोराइड र बाइकार्बोनेट हुन्छ। यसबाहेक आँसुमा थोरै मात्रामा म्याग्नेसियम र क्याल्सियम पनि हुन्छ। यी सबै तत्त्वले आँसुको तह बनाउँछन्।

आँसु कहाँबाट आउँछ ?

आँखामा आँसु टियर ग्रन्थी (लैक्रिमल ग्रन्थी) द्वारा उत्पादन हुन्छ । यी ग्रन्थीहरू आँखाको पुतलीभन्दा माथि हुन्छन् र कोर्नियाको सतहसम्म फैलिएका हुन्छन् । आँखाको माथिल्लो र तल्लो तहको कुनामा रहेको माइक्रोस्कोपिक प्वालबाट आँसु बाहिर निस्कन्छ र टियर डक्ट हुँदै नाक र घाँटीमा आउँछ ।

धेरै रुँदा धेरै आँसु निस्कन्छ, नाकभित्र पस्छ र म्युकस मिसिन्छ । यही कारणले गर्दा प्रायः रुँदा नाकबाट पानी आउन थाल्छ र रोएपछि आफैं रोकिन्छ । औसत व्यक्तिले प्रत्येक वर्ष १५ देखि ३० ग्यालेन बराबर आँसु उत्पादन गर्छ ।

आँसुको काम

आँसु दुःख वा सुखमा मात्र आउँछ भन्ने होइन, आँसु आँखाको रक्षा र पोषणका लागि हो। यसले वातावरणमा रहेको बाह्य धुलो कण, भाइरस र ब्याक्टेरियाबाट जोगाउँछ। प्रत्येक चोटि आँखा झिम्क्याउँदा यसले आँखालाई लुब्रिकेट गरेर सफा राख्छ। आँसुको पानीले आँखालाई हाइड्रेटेड राख्छ। यसबाहेक यसमा पाइने मिनरल्स र प्रोटिनले आँखाको कोषिकालाई पोषण दिन्छ र आँखालाई स्वस्थ राख्छ।

आँसुका ३ तह

 

म्युकस तह

यो तहले आँखामा आँसु राख्छ। यसविना आँखाको सतहमा सुक्खा दागहरू बन्छन्। आँखा जति सुक्खा हुन्छ, सङ्क्रमणको जोखिम त्यति नै बढी हुन्छ।

जलीय तह

यसले आँखालाई हाइड्रेटेड राख्छ, कोर्नियालाई बचाउँछ र ब्याक्टेरियाबाट बचाउँछ। यो सबैभन्दा बाक्लो र नुनिलो तह हो।

तेलको तह

यसले अन्य दुई तहलाई वाष्पीकरण हुनबाट रोक्छ र आँसुलाई पारदर्शी बनाउँछ।

आँसुको प्रकार

आँसु ३ प्रकारका हुन्छन्। नुनिलोपनले आँसुको प्रकारमा निर्भर गर्छ।

रिफ्लेक्स आँसु

यस्तो खालको आँसु धेरै नुनिलो हुन्छ र प्याजको ग्यास र कडा गन्ध (रसायन, बान्ता) जस्ता आँखामा जलन हटाउने गर्छ। यसबाहेक अन्य कुनै जलन जस्तै धुलो, उज्यालो आदिका कारण पनि आँसु आउँछ। कुनै पनि जलनका कारण टियर ग्रन्थीहरू बढी सक्रिय हुन्छन्।

बेसल आँसु

यो आँखाको बाहिरी सतहमा हुन्छ। यसले आँखा सुक्खा हुनबाट बचाउँछ । साथै, यसले वातावरणमा हुने अन्य खतराबाट पनि बचाउँछ।

भावनात्मक आँसु

यो आँसु मनको भावनात्मक स्थितिमा निर्भर गर्छ । हामी दु:खी हुँदा वा कहिलेकाहीं अत्यन्तै खुसी हुँदा यी हाम्रो आँखामा आउँछन् । भावनात्मक आँसुबाट सान्त्वना मिल्छ । यसमा केही हर्मोन र प्रोटिनहरू हुन्छन्, जुन अन्य दुई प्रकारका आँसुमा हुँदैन । आँसु देखेर मानिसहरूले सहानुभूति व्यक्त गर्छन्, मद्दत गर्न आउन सक्छन्, जसले नैतिक समर्थन दिन्छ । जैविक, सामाजिक र भौतिक तीनवटै कारणले भावनात्मक आँसु आउन सक्छ ।

निद्रा र आँसु

मानिस सुतेपछि आँसुको रूप बदलिन्छ। यस अवधिमा आँसुमा प्रोटिन कम हुन्छ तर एन्टिबडी बढी हुन्छ। यसले गर्दा सङ्क्रमणबाट बचाउने कोषिकाहरु आँखाभित्र पस्छन्। सुत्दा आँसुमा तेल, म्युकस र छालाको कोषिकाहरु मिसिन्छन् र आँखाको कुनामा क्रस्ट जम्मा हुन्छन् किनभने यस समयमा आँखा झिम्क्याइँदैन।
आँसुको अभावले के हुनसक्छ ?

सुकखा आँखा सिन्ड्रोम आँसुको कमीको कारण हुन्छ। जसले आँखामा जलन र चिलाउने समस्या हुनसक्छ। यसबाहेक आँखाको संक्रमण, कोर्नियल अल्सर र दृष्टिविहीन हुने सम्भावना समेत रहन्छ। बुढेसकाल र कुनै औषधिको प्रभावले पनि आँखामा सुक्खापन हुन सक्छ।

नवजात शिशुको आँखामा आँसु किन आउँदैन ?

बच्चाको टियर ग्रन्थीको विकास हुँदैन, त्यसैले बच्चा रुँदा आँखाबाट आँसु आउँदैन। समग्रमा आँसु आउनु पनि आँखाको स्वास्थ्य हुनुको सङ्केत हो। आँसु सधैं हाम्रो आँखा जोगाउन तयार हुन्छ। यसले जलन पैदा गर्ने तत्त्वलाई सफा गर्छ, भावनालाई शान्त पार्छ।

कमेन्ट गर्नुहोस्
Share: