
काठमाडौँ । अमेरिकाको ओहियोमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ। त्यो घटना यतिधेरै अकल्पनीय तथा दर्दनाक छ कि सुन्दैमा अकल्पनीय लाग्दछ। त्यहाँकी एक महिलाले एउटा बिरालोलाई मारेर त्यसलाई काँच्चै चपाएर खाएकी छिन्। उनले त्यसरी बिरालो चपाइरहेको भिडियो नै सार्वजनिक भएको छ।
ती महिलाले एउटा घरपालुवा बिरालोलाई खुट्टाले कुल्चिएर मारिन्। त्यसपछि त्यसलाई हातले समाएर चपाउन थालिन्। उनले त्यस्तै हिंश्रक काम गरिरहेको देखेपछि मानिसहरुले पुलिसलाई सूचना दिए।
प्रहरी घटनास्थलमै पुग्यो र बिरालो खाँदै गरेकी ती महिलालाई पक्रिए। सो घटना गत अगष्ट महिनामा भएको हो। त्यसरी बिरालो मारेर काँचै चपाउने महिलाको नाम एलेक्सिस फेरेल हो। बिरालोमाथि बर्बरता देखाउने २७ वर्षीया फेरेल अहिले काउन्टी जेलमा छिन्। उनीमाथि अदालतले साढे २ वर्षको जेल सजाय सुनाएको छ।
प्रहरीले अदालतमा पेश गरेको कागजात अनुसार घटनास्थलमा पुलिस पुग्ने बेलामा फेरेलको हात खुट्टा रगतले लतपतिएका थिए र मुखमा पनि बिरालोका रौं टाँसिएका थिए। उनको छेउमा एउटा मरेको बिरालो थियो।
उनले मारेर खाएको बिरालो कसको हो भन्ने चाहिं अहिलेसम्म पत्ता लागेको छैन।
उक्त घटनापछि ओहियोमा हैटीका आप्रवासीहरुले कुकुर र बिरालो खाइरहेको भनेर स्थानीय मानिसहरुले आवाज उठाएका थिए। तर, फेरेल भने अमेरिकामै जन्मिएकी हुन्। –एजेन्सी
