१४औं एन प्याव्सन खेलकुद महोत्सव: कास्की मोडनाइज्ड च्याम्पियन

Share:

पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४औं एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन भएको छ ।

कास्की मोडनाइज्ड एकेडेमीले १ सय ७५ अंकका साथ च्याम्पियन बनेको हो। यस वर्षबाट सुरु भएको रनिङ शिल्ड कास्की मोडनाइज्डले हात पारेको हो। चाँदी जडित १ लाख २५ हजारमा बनेको रनिङ शिल्ड कास्की मोडनाइज्ड एकेडेमीलाई प्रदान गरिएको हो।

त्यसैगरी त्रिवेणी पब्लिक १ सय ५८ अंकका साथ द्धितीय भयो भने सिद्धार्थ लवडेल बोर्डिङ स्कुल १ सय १२ अंकका साथ तृतीय भयो।

त्यस्तै एथलेटिक्स तर्फ कास्की मोडनाइज्ड एकेडेमी प्रथम, हेम्जा वोर्डिङ स्कुल दोस्रा तथा चिल्ड्रेन्स एकेडेमी र लिटल फ्लावर एजुकेशनल एकेडेमी तेस्रा भए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलकुदको विकासमा एन प्याव्सनले गरेको यो महोत्सवले ठूलो टेवा मिलेको बताए।

यस क्षेत्रको खेलकुद विकासका लागि प्रदेश सरकारको स्रोत र साधान प्रयोग गरि खेलकुदका संरचाना निर्माणमा तिव्रता दिएको बताउँदै पोखरालाई खेलकुदको हवको रुपमा विकास गर्ने उल्लेख गरे।

उनले विद्यार्थीहरुको मनोबल उच्च राख्नका लागि खेलकुदलाई अतिरिक्तमा मात्र नभई पढाईसँग अभिन्न अंगमा रुपमा लैजान सुझाव दिए।

नेशलन प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले एन प्याव्सन कास्कीले गरेको हरेक गतिविधि उत्कृष्ट रहेको बताए।

यसअघि कास्की मोडनाइज्ड एकेडेमी र गण्डकी एकेडेमी कास्कीबीच भएको फाइनल खेलमा ३–० ले कास्की मोडनाइज्ड एकेडेमी विजयी भएको थियो।

खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गरेका थिए।

जुनियरतर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा, सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाएका थिए।

त्यसैगरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा गरेका थिए । जुनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको थियो।

त्यसैगरी सिनियर छात्र–छात्रातर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्रतर्फ १५०० मिटरको दौड रहेको थियो। कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रातर्फ बास्केटल प्रतियोगिता रहेको थियो।

त्यस्तै सडक दौड, क्रिकेट हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल र छात्रतर्फ इलाभेन ए साईड फुटबल र छात्रातर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको थियो। २०५५ सालमा स्थापना भएको एनप्याव्सनमा हाल ४९ विद्यालय आवद्ध रहेका छन्।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमराज अधिकारीले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: