
पोखरा। एक युवकले पेट्रोल छर्किएर आगो लगाइदिएपछि कास्कीको मादी गाउँपालिका वडा नं ५ ठूलास्वाँराका ४८ वर्षीय दुर्गाबहादुर गुरुङ गम्भीर घाइते भएका छन्। उनको काठमाडौँ कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएराति ११ बजे आफ्नै घर बाहिर गुरुङमाथि यस्तो हमाला भएको हो। खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ स्थायी घर भई पोखरा महानगरपालिका वडा नं १३ काँहुखोला बस्ने ३१ वर्षका उमेश राईले गुरुङमाथि हमला गरेका थिए।
घटनालगत्तै गुरुङलाई उद्धार गरी उपचारका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल हुँदै उनलाई आज बिहान काठमाडौँ पठाइएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीसहित मातहतका प्रहरी खटिएर खोजी गर्ने क्रममा मादी गाउँपालिका वडा नं. ५ सुनपदेँलीस्थित पुरानो स्कुलमा लुकिछिपी बसेको अवस्थामा राईलाई नियन्त्रणमा लिइएको हो।
राईको साथबाट लाइटर, बोत्तल, मोवाईल बरामद भएको प्रहरीले जनाएको छ। राईविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।
