
पोखरा। लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले शनिबार कार्निभल आयोजना गरेको छ। पोखरा- ४ गैहपाटनमा रहेको कलेज परिसरमा तेस्रो लेकसिटी कार्निभल कार्यक्रममा आयोजना गरिएको हो।
खुला सडकमा नाँच्ने, खाने, गाउने र रमाइलो गर्ने गरी आयोजना गरिने कार्निभल कार्यक्रम लेकसिटीले पछिल्ला वर्षहरुमा नियमित रुपमा गर्दै आएको छ।
कलेज सञ्चालक समितिका अध्यक्ष प्रा.डा विश्वकल्याण पराजुलीले सो कार्निभल कार्यक्रमको शुभारम्भ गरेका थिए। कलेज परिसरको खेल मैदानमा सांस्कृतिक कार्यक्रमका लागि मूख्य मञ्च सहित विभिन्न ११ वटा स्टलहरु राखिएका थिए।
ती स्टलहरुमा स्थानीय उत्पादनहरु मह, अचार, सातु, कपडाका झोला, हस्तकला, सजावट र सौन्दर्य सामाग्री लगायतको प्रदर्शनी र बिक्री गरिएको थियो।
त्यसैगरी खानाका परिकारहरु सेलरोटी, तरकारी, अचार, मम, चाउमिन पानीपुरी, चटपट पनि राखिएका थिए। कलेजमा अध्ययन गरिरहेका र पूर्वविधार्थीहरु आँफैले ती स्टलहरुको सञ्चालन गरेको क्याम्पस प्रमूख प्रमूख नारायण श्रेष्ठले जानकारी दिए।
कार्निभलमा सहभागीले विधार्थीहरुले पकाएका खानाका परिकार मीठो मानेर खाएका थिए।
टेलिकम कम्पनी एनसेलले आफ्नो सेवा सुविधाबारे कार्निभलमा सहभागीलाई जानकारी दिन स्टल राखेको थियो। कलेजमा अध्ययनरत विधार्थी र प्राध्यापकहरुलाई नि:शुल्क सिम वितरटा गरिएको एनसेलले जनाएको छ।
कार्निभललाई थप मनोरञ्जक बनाउन कलेजका विधार्थीहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए। गायन, नृत्य, लाखेनाच सहितका सांगीतिक र सांस्कृतिक कार्यक्रमले कलेजको खुला मैदानमा जम्मा भएका सबैलाई मोहित पारेको थियो।
कलेजकी पूर्वविधार्थी सपना गायकले कार्यक्रम सञ्चालन गरेकी थिइन्। साँझ आयोजित कन्सर्टमा कर्खा र अपरिमित व्याण्डको सांगीतिक प्रस्तुति थियो। कार्निभललाई विजय आभुषण र रोजिना अफसेट प्रेसले प्रायोजना तथा लिचीबोट पार्टीप्यालेस, लोटस युनिफर्म र हलमार्कले सहयोग गरेका थिए।
आगामी वर्ष पनि यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिने कलेजका सहायक क्याम्पस प्रमूख शोभाकान्त सिग्देलले बताए। कलेजले वार्षिक रुपमा विद्याथीहरुलाई शैक्षिक भ्रमण, खेलकूद प्रतियोगिता, रक्तदान कार्यक्रम, वृक्षरोपण, फिल्ड भ्रमण र वर्कसप कार्यक्रमहरु गर्दै आएको सहायक क्याम्पस प्रमूख सिग्देलको भनाइ छ।
लेकसिटीले सामाजिक विज्ञान केन्द्रको मौलिक प्रस्तुतिका रुपमा हरेका महिना कचहरी कार्यक्रम गर्दै आइरहेको छ। त्रिविबाट सम्बन्धन प्राप्त सो कलेज विस २०६४ सालमा पोखराका स्थानीय प्रवुद्ध व्यक्तिहरुबाट स्थापना गरिएको हो।
कलेजमा स्नातक तहअन्तर्गत बिबिएस, बिएएसडब्लू (समाजसेवा) र बिएमा समाजशास्त्र, पत्रकारिता तथा आमसंचार र अंग्रेजी साहित्यको पठनपाठन हुँदै आएको छ। वार्षिक सय जना विधार्थी भर्ना गर्ने क्षमता रहेको कलेजमा हाल ३ सय ५० जना अध्ययनरत रहेको क्याम्पस प्रमूख श्रेष्ठले जानकारी दिए।
गुणस्तरीय र व्यावहारिक शिक्षामा आफूहरुले जोड दिंदै आएको कलेजको दाबी छ। शैक्षिक उत्कृष्टता र खेलकूदमा लोभलाग्दो सफलता प्राप्त गर्न कलेज सफल भएको छ।
हालै प्रकाशित स्नातक तहको नतिजामा डिस्टिङ्सनसहितको उच्च दरको सफलता लेकसिटीले पाएको छ। यसैगरी १७ औं हिसान कास्की स्पोर्टमिट २०८१ मा बास्केट बलतर्फ छात्र र छात्रा दुवैमा प्रथम स्थान प्राप्त गरेको छ।
