पोखरामा दोस्रो नेपाल-चीन ड्रागन बोट रेस आयोजना हुने

Share:

काठमाडौँ। पोखरामा दोस्रो नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस आयोजना हुने भएको छ। नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पोखरामा दोस्रो नेपाल(चीन मैत्रीपूर्ण ड्रागन बोट रेस आयोजना हुने भएको हो।

आगामी पुस १४ र १५ गते आयोजना हुन लागेको ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ।

२ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह पाँच सय डलर पनि प्रदान गरिनेछ।

ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ। चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिवल पटक सफलतापूर्वक आयोजना गरिएको थियो। चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ।

सो अवसरमा बोल्दै नेपालका लागि चिनीया राजदुतावासमा डेपुटी चप्फ अफ मिशन वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा राखिएको बताए। उनले नेपालको पर्यटन प्रर्वद्धन गर्न चीन सधैं सकारात्मक रहेको उल्लेख गरे।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि भएको उल्लेख गर्दै ड्रागन बोट रेसले पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए। उनले ड्रागन बोट रेसले पोखराको पर्यटनमा नयाँ आर्कषण समेत थपेको बताए।

चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेण्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुन्छ।

चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा रहेको छ। यस चाड मनाउन चीन सरकारले सार्वजनिक विदा दिएको हुन्छ। चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यस चाड मनाउने गर्दछन्। चिनियाँ भाषामा ‘डुआन्वु जी’ भनिने ड्रागन बोट फेष्टिभल चीनको चारवटा ठूला चाडमध्ये एक हो। चीनमा ड्रागनलाई सकारात्मक शक्तिको रूपमा लिइने गरिन्छ।

सन् २०१९ मा चीनबाट १ लाख ६९ हजार ५३४ जना र २०२३ मा ६० हजार ८७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८४८ जना चिनीयाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: