
काठमाडौँ। नेकपा (एमाले) ले निष्कासित गरेसँगै डा. भीम रावलले नयाँ पार्टी खोल्नेबारे छलफल अगाडि बढाएका छन्। पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेपछि अब आफू एमालेमा नरहेको र विद्यमान कुनै पनि पार्टीमा नजाने घोषणा स्वयम् रावलले गरेका छन्।
यस्तोमा सक्रिय राजनीति नै नगर्ने कि छुट्टै पार्टी खोलेर अगाडि बढ्ने भन्ने जिज्ञासामा रावलले भने, ‘मलाई साथ दिने नेता, जनता, देशभक्तहरू हुनुहुन्छ, उहाँहरूको सुझाव र सर-सल्लाहअनुसार म जस्तो दिशामा जानुपर्छ, जान तयार छु।’
कारबाहीमा परेलगत्तैदेखि रावलले आफू निकटका नेता-कार्यकर्ताहरूसँग कसरी अगाडि बढ्ने भन्नेबारे छलफल थालेका छन्। त्यसमा धेरैले नयाँ पार्टी खोलेर अगाडि बढ्नु भन्ने सल्लाह दिएको रावल निकट एक नेताले बताए।
‘अब कसरी अगाडि बढ्ने भन्नेबारे उहाँले आफू निकटका नेता-कार्यकर्ता र उनीहरूमार्फत जनतालाई समेत सोध्नुभएको छ,’ उनले भने, ‘त्यहाँ धेरैले नयाँ पार्टीमार्फत नै अगाडि बढ्नु भन्ने सल्लाह दिएका छन्।’
त्यसो त रावल एमालेको दशौं महाधिवेशनयता पार्टीमा निष्क्रिय थिए। केपी शर्मा ओलीसँग अध्यक्ष पदमा निर्वाचन लडेका रावलले यहाँसम्म आइपुग्दा निष्कासन नै भोग्नुपरेको छ । यसबीचमा उनी गृहप्रदेश सुदूरपश्चिम गइरहे, आफू निकटका नेता र शुभेच्छुकहरूसँग भेटिरहे, छलफल गरिरहे। कतिपयले त्यसबेला नै नयाँ पार्टीमार्फत अगाडि बढ्न सुझाएका थिए।
अब भने यसैगरी अगाडि बढ्ने बाटो बन्दै गएको ती नेताको भनाइ छ। ‘उहाँ (भीम रावल) पनि त्यही मनस्थितिमा पुग्दै हुनुहुन्छ। केही दिनमा तपाईंहरूले जानकारी पाउनुहुन्छ,’ती नेताले भने।
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीसमेत रहेका नेता कृष्णराज सुवेदी जहाँ पनि र जहिल्यै पनि आफूहरू रावलसँगै भएको बताउँछन्। ‘जसरी उहाँमाथि पार्टीले काबाही गर्यो, यो अति नै दुखद् छ। हामी रावल सरसँगै छौँ। हामी मात्रै होइन, पूरै सुदूरपश्चिम उहाँसँगै छ। उहाँको कदमलाई साथ दिन्छौँ,’ उनले भने। उहाँ नयाँ पार्टीमार्फत अगाडि बढ्ने हो भन्ने प्रश्नमा भने, ‘अरुले नयाँ पार्टी खोल्दा हुने, उहाँले खोल्दा नहुने भन्ने के छ र ! अहिल्यै यसबारे निर्णय लिइसक्नुभएको छैन। निर्णयमा पुग्दैछौँ।’
सुदूरपश्चिम प्रदेशकै पूर्वमन्त्रीसमेत रहेका अर्का नेता प्रकाश बहादुर शाह पनि आफूहरू रावलसँगै भएको बताउँछन्। पार्टीले उक्त निर्णय पुनर्विचार गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘यदि त्यस्तो भएन भने कसरी जाने भनेर हामी थप छलफल र निर्णय लिन्छौँ ।’
तर, पार्टीले अब बस्ने केन्द्रीय कमिटी बैठकमा त्यसको पुनर्विचार गर्नुपर्ने माग नेता शाहको छ।
