
काठमाडौँ । चट्याङ लागेर बैतडीमा एकै वडामा सात पशुचौपाया मरेका छन्। जिल्लाको सुर्नया गाउँपालिका–६ धुलिधार र खर्काधार टोलमा चट्याङले क्षति पुर्याएको हो। शनिबार दिउँसो २ बजेतिर परेको चट्याङले स्थानीयहरुले पालेका घरपालुवा पशुचौपायामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
विद्युतको लाइनमा परेको चट्याङले क्षति पुर्याएको स्थानीयहरुले बताएका छन्। चट्याङ लागेर सुर्नया गाउँपालिका–६ खर्काधारका प्रकाश अवस्थीको एक भैंंसी मरेको छ भने धुलिधारमा ६ ओटा पशुचौपाया मरेका छन्।
धुलिधारमा स्थानीय पदमराज अवस्थीको एक बाख्रो र एक बाच्छो, कृष्णदत्त अवस्थीको एक गोरु, हरिदत्त अवस्थीको एक बाख्रो, लिलाधर अवस्थीको एक बाख्रो र दामोदर अवस्थीको एक राँगो मरेको प्रवक्ता पाण्डेयले बताए।
घरपालुवा पशुचौपाया मरेपछि किसानहरुलाई हजारौं रुपैयाँको क्षति भएको छ।यस्तै चट्याङले अधिकांश घरको वाइरिङ नष्ट गर्नुका साथै विद्युत मिटर समेत जलाएको वडा अध्यक्ष मदनराज अवस्थीले बताए। चट्याङले दुई टोलमा धेरै क्षति पुर्याएको उनले बताए।
चट्याङले जमीनमा समेत धाजा फाटेको स्थानीय धर्मानन्द अवस्थीले बताए । चट्याङका कारण स्थानीयहरु त्रसित समेत बनेका थिए।
चट्याङबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनका लागि पहल गरिने वडा अध्यक्ष अवस्थीले बताए। यस्तै शनिबार बिहान चट्याङ लागेर घाइते भएका शिवनाथ-२ पोखराका चारजना उपचारपछि घर फर्किएका छन्।
शनिबार बिहान ११ बजेतिर स्थानीय गोपाल दमाईको घरमा चट्याङ पर्दा उनकी श्रीमति ३५ बर्षीया पवानी दमाइ, बुहारी २० बर्षीया कविता दमाई, १३ बर्षीय छोरा लोक दमाई र ११ बर्षीया छोरी लक्ष्मी दमाई घाइते भएका थिए।
घाइते सबै पाटनस्थित डिएस पोलिक्लिनिकमा उपचार गराएर घर फर्केका प्रहरी निरीक्षक पाण्डेयले बताए।
