
पोखरा। कास्कीको पोखरा महानगरपालिका– १६ स्थित कुरचिन्ने खर्क सामुदायिक वन उपभोक्ता समुहको ३० औं साधारण सभा एवम् चौँधौ अधिवेशन उद्घाटन समारोहमा १०४ वर्षकी भिमाकुमारी बास्तोलालाई सम्मान गरिएको छ।
प्रत्येक वर्ष साधारण सभामा वन समुहभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा बास्तोलालगायत ८५ वर्षिया ढाटी बस्नेत र ८१ वर्षका मिनबहादुर बस्नेतलाई पनि सम्मान गरिएको हो।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्दै वन समुहले वन तथा वातावरणको संरक्षणसँगै समाजको आर्थिक एवम् सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए।
वन कार्ययोजना र विधानको पूर्णरुपमा पालना गर्ने हो भने वनपैदावार उपयोगमा कुनै पनि समस्या नपर्ने बताउँदै उनले मुलुकको वन क्षेत्रलाई समृद्धिसँग जोड्ने खालका उद्यम सञ्चालन गर्न सरकारको ध्यान जानुपर्ने आवश्यकता औँल्याए।
महासंघ गण्डकी प्रदेशका सदस्य एवम् समुहका सल्लाहकार जितबहादुर बस्नेतले सहरको नजिक रहेको हुँदा चोरीशिकारीबाट वन तथा वन्यजन्तुको संरक्षणमा चुनौती बढ्दै गएको उल्लेख गरे।
समुहका अध्यक्ष रमेश वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मिनु वस्नेत, कोषाध्यक्ष झलकबहादुर बस्नेत, निलबहादुर बस्नेत, रमेशबहादुर वस्नेत लगायतले संरक्षण गरेको वनलाई उपयोग गर्ने नीतिको खाँचो रहेको बताए।
कार्यक्रममा लुकीछिपी दाउरा चोरी गर्ने ६ जना स्थानीयलाई आगामी दिन प्रवेश नगर्ने सर्तमा जफत गरिएका हसिँया फिर्ता गरिएको थियो।
