पोखराको तालचोकमा आजदेखि २०औँ लेखनाथ महोत्सव सुरु, गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन

Share:

पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा २०औँ लेखनाथ महोत्सव सुरु भएको छ। महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे।

महोत्सव उद्घाटन अघि विभिन्न जनजातिको भेषभूषामा झाकीसहित र्‍याली प्रदर्शन गरिएको थियो। महोत्सवमा राष्ट्रिय स्तरका कलाकारबाट स्टेजशो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रमलगायतका कार्यक्रम हुनेछन्।

यस्तै, रत्यौली गीत प्रस्तुति, ख्यातिप्राप्त कलाकारबाट दैनिक प्रस्तुति, सुगम सङ्गीत, लाइभ कन्सर्टलगायतका थुप्रै मनोरञ्जनात्मक कार्यक्रम पनि महोत्सवमा हुनेछन्।

संघका अध्यक्ष विनोद श्रेष्ठका अनुसार आउँदो माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय ३६ वटा स्टल राखिएको छ। महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने नाराको साथ आयोजना गरिइको हो।

महोत्सवमा दुई लाख ५० हजार भन्दा बढी दर्शक सहभागी हुने अध्यक्ष श्रेष्ठको आकलन छ। साथै नौ करोड रुपैयाँको आर्थिक कारोबार हुने र यसले थोरै भए पनि आर्थिक क्षेत्र चलायमान बनाउने अपेक्षा पनि उनको छ। महोत्सवबाट करिब ९० लाख आम्दानी र करिब ८० लाख खर्च भई १० लाख रुपैयाँ बचत हुने अपेक्षा छ।

सङ्घले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट महोत्सव शुरु गरेको थियो। साथै २०६१ सालदेखि लेखनाथ महोत्सव गर्दै आएको संघले जनाएको छ। महोत्सवको माध्यमबाट लेखनाथ र कास्की क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण, कृषि सामग्री एवं महिला उद्यमीको उत्पादनको प्रदर्शनी एवं बिक्री हुने दावी छ।

लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिँदै आएको र उत्पादक र उपभोक्तालाई एकै ठाउँमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्ने महोत्सवका सह-संयोजक राजेन्द्र ओझाको दावी छ। देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न महोत्सवले थप मद्दत पुग्ने प्रचारप्रसार संयोजक जानुका पराजुलीको दावी छ ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले निजी क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र सुधार र बलियो बनाउन सकिने बताए। उनले कोभिडपछि देशको खस्कँदो अर्थतन्त्रलाई अब निजी क्षेत्र र सरकारको सहकार्य र समन्वयले अर्थतन्त्रलाई सुधार र बलियो बनाउन सकिने बताए।

नेपालको पर्यटन राजधानी पोखरामा गण्डकी प्रदेशमा निजी क्षेत्रसँगको साँझेदारीमा पर्यटनको क्षेत्रमा सरकारले काम गर्न तयार रहेको उनले बताए।

नीति नियमका कारण उद्योग, व्यापार, व्यवसायको क्षेत्रमा समस्या परेको र प्रदेश सरकारबाट संशोधन गर्नु परेमा सरकारले तत्काल संवोधन गर्ने उनले बताए। समृद्ध गण्डकी प्रदेश बनाउने अभियानमा सबैको सहकार्य जरुरी रहेको मुख्यमन्त्रीको भनाइ थियो।

कमेन्ट गर्नुहोस्
Share: