बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्यो, प्रतिलिटर कति ?

Share:

पोखरा । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ।

मूल्य वृद्धिसँगै १६० रुपैयाँ ५० पैसा प्रति लिटर (पहिलो वर्ग) पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पर्नेछ भने तेस्रो वर्ग अनुसार १६३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य १६५ रुपैयाँ पर्नेछ।

यसैगरी प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्ग अनुसार १५२ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ र तेस्रो वर्ग अनुसार १५३ रुपैयाँ पर्ने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ पर्नेछ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ भने दोस् वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललाई राखेको छ।

निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोल, डिजेल र मटीतेलको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: