
पोखरा । पोखरा महानगरपालिकाले डेभिजफल्स (पाताले छाँगो) को गेटमा तालाबन्दी गरेको छ।पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पाताले छाँगो क्षेत्रको आफैँ व्यवस्थापन गर्ने महानगरको निर्णयमा स्थानीयको अवरोधपछि मंगलबार महानगरले प्रवेशद्वारमै तालाबन्दी गरेको हो।
पोखरा-१७,छोरेपाटनमा रहेको पाताले छाँगोको सञ्चालन र व्यवस्थापन स्थानीय छोरेपाटन माविले गर्दै आएको छ। त्यहाँ प्रवेश गर्दाको शुल्क पनि विद्यालयले नै लिन्छ। प्रवेश शुल्कबापत् उठेको रकमबाट विद्यालय सञ्चालन हुँदै आएको स्थानीयको भनाइ छ।
स्थानीयको त्यही माग संवोधन गर्न महानगरले २०८० सालको भदौमा विद्यालयलाई वार्षिक २ करोड रुपैयाँ दिने गरी सम्झौता गरेको थियो। तर, विद्यालयसँग सम्बन्धित व्यक्तिहरुले त्यसको पनि विरोध गरे। महालेखापरीक्षकको कार्यालयले पाताले छाँगोबाट हुने आम्दानी महानगरको कोषमा नआएकोमा खबरदारी गर्दै आइरहेको छ।
खासमा, विवादको जड भने अर्कै छ। पोखरा महानगरले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप पाताले छाँगोको व्यवस्थापनको जिम्मेवारी सेती क्यानोनिङ प्रालिलाई दिने निर्णय गरेको छ।निवर्तमान मेयर मानबहादुर जिसीको पालामा भएको त्यो सम्झौतालाई वर्तमान मेयर धनराज आचार्यले पनि अगाडि बढाउने निर्णय गरेका थिए।
सेती क्यानोनिङले डेभिजफल्समा सिसाको पुलदेखि म्युजिकल फाउण्टेन, रेस्टुराँ, सेल्फी प्वाइन्ट बनाउने योजना अगाडि सारेको थियो। ४० वर्षको लागि गरिएको सो सम्झौताबाट महानगरले सुरुका ३ वर्षसम्म वार्षिक २ करोड र त्यसपछि पहिलो वर्ष ५ प्रतिशत र त्यसपछि २/२ वर्षमा ५ प्रतिशत चक्र वृद्धिले हुन आउने रकम प्राप्त गर्ने उल्लेख छ। कम्पनीले करिब ४५ करोड लगानीमा परियोजना सम्पन्न गर्ने योजना पेश गरेको थियो।
विद्यालयले आम्दानी गरिरहेको ठाउँ निजी कम्पनीलाई दिन लागेको भन्दै स्थानीयले निरन्तर विरोध गरेपछि परियोजना अगाडि बढ्न सकेको छैन। सम्झौता भएको कम्पनीले बारम्बार दबाब दिएपछि महानगरले अन्तिममा सो क्षेत्र आफैले चलाउने निर्णय गरेको हो। महानगरको राजश्व प्रशासन महाशाखाले मंगलबार सार्वजनिक मुचुल्का गराएर पाताले छाँगो संचालनका निम्ति तालाबन्दी गरेको जानकारी गराएको छ।
महानगरको तर्फबाट गरिएको सार्वजनिक मुचुल्कामा भनिएको छ,‘पोखरा महानगरपालिका वडा नं १७ स्थित पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाले महानगरपालिकाको आर्थिक ऐन र प्रचलित नेपाल कानून बमोजिम सञ्चालन गर्ने पातले छाँगो (डेभिड फल्स) को राजस्व संकलन र व्यवस्थापनको सम्बन्धमा यस अघि महानगरपालिका र छोरेपाटन माध्यमिक विद्यालयबीच भएको सम्झौता अक्षरस पालना नगरिएको अवस्था र महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा राजश्व संकलन सम्बन्धी सम्पूर्ण कार्य महानगरपालिकाको रहेको र यस अघिको बेरुजु रकम अशुल उपर गर्नुपर्ने भनि दिएको निर्देशनात्मक आदेश समेतका आधारमा आज मिति २०८१ माघ १ गतेदेखि पातले छाँगो (डेभिड फल्स) को सम्पूर्ण सञ्चालन र व्यवस्थापन महानगरपालिकाको तर्फबाट गरिने जानकारी गराइन्छ।साथै सो प्रयोजनका लागि आज मिति २०८१ माघ १ गतेदेखि पातले छाँगो (डेभिड फल्स) को प्रवेश द्वारमा अर्को आदेश नभए सम्मका लागि महानगरपालिकाको तर्फबाट शिलबन्दी गरिएको छ।’

