निसन्तान महिलालाई गर्भवती बनाएबापत पुरस्कार दिने भन्दै युवाहरुमाथि अनौठो ठगी

Share:

काठमाडौँ। अहिलेको जमाना डिजिटल युगको हो। तर, डिजिटल युगमा पनि ठगी गर्नेहरूको भने बिगबिगी छ। छिमेकी मुलुक भारतमा चाहिं केही युवाहरुलाई यस्तो लोभ देखाएर ठगी गरिएको छ, जसका बारेमा सायद ठगिनेलाई समेत उजुरी गर्न अप्ठ्यारो पर्‍यो होला।

भारतको बिहारका केही नौजवान युवालाई ठगहरुले निसन्तान महिलाहरुलाई गर्भाधारण गराएबापत मोटो रकम पुरस्कार दिने भन्दै ठगी गरेका छन्।

महिलालाई गर्भवती बनाएबापत पुरस्कार दिने भनी सोसल मिडिया साइट मार्फत् विज्ञापन गरेर ठगहरुले विहारको काउआरा गाउँका युवाहरुलाई ठगेका हुन्।

गर्भाधारण गराएबापत प्रति महिला ५ देखि १० लाख भारु दिने र गर्भाधारण नभएतापनि प्रयास गरेमात्रै समेत ५० हजार भारु दिने भनेर अल इन्डिया गर्भाधारण जागिर सेवा नामक वेबसाइट नै खोलेर ठगहरुले बल्छी थापेका थिए।

त्यसरी वेबसाइटको विज्ञापनबाट लोभिएका युवाहरुलाई सुरुवातमा दर्ता शुल्क बापत केही रकम पठाउन लगाइन्थ्यो।

त्यसपछि केही महिलाको तस्वीर पठाएर त्यसमध्ये एकजना छान्न लगाइन्थ्यो र महिलाको सुन्दरताको आधारमा भन्दै सेक्योरिटी डिपोजिट भनेर थप रकम जम्मा गर्न लगाइन्थ्यो। त्यसपछि भने ठगहरु बेपत्ता हुन्थे।

यो मामिलामा पीडित युवकहरुले उजुरी गरेपछि प्रहरीले अनुसन्धान गर्‍यो र तीनजनालाई पक्राउ गरेको छ। उनीहरु ठूलै अपराधिक समूहको सदस्य भएको आशंका गरिएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: