व्यापार मेलामा छुटको बहार, टिकटक बनाउनेलाई २० हजार पुरस्कार

Share:

पोखरा । पोखरा महानगरपालिका- ९ नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा छुट नै छुटको व्यवस्था भएको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका उपाध्यक्ष दिनेशचन्द बास्तोलाका अनुसार १२ औं क्यान इन्फोटेक तथा चौँथो मोवाइल मेलासमेत समाहित गरिएको व्यापार मेलामा रहेको नेपाल टेलिकमको स्टलबाट निःशुल्क सिमकार्ड वितरणको व्यवस्था मिलाइएको छ ।

उनले नागरिकताको फोटोकपी तथा व्यक्तिको फोटो ल्याउनासाथ स्टलबाटै सिमकार्ड उपलब्ध गरिने बताए। यसैगरी मेलामा राखिएका स्टलहरुबाट ल्यापटप तथा मोवाइल खरिद गर्दा ५० प्रतिशतसम्म छुट, सिसिटिभी क्यामेरा खरिदमा जडानसहित निःशुल्क, स्मार्ट बोर्ड खरिदमा किस्ताबन्दीको सुविधा,मोवाइल एक्चचेञ्ज अफरका साथै मर्मतमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको उनको भनाइ छ।

उपाध्यक्ष बास्तोलाले दैनिक टिकटमा १० जनालाई बन्दीपुर केबलकारको टिकट तथा ५ जनालाई मोवाइल फोन नै प्रदान गरिएको जानकारी दिए। संघका महासचिव शोभा गौतमका अनुसार अलोकनकर्ताहरुका लागि टिकटक बनाउने प्रतियोगितासमेत मेलाअन्तर्गत नै आयोजना गरिएको छ।

टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्ने पनि उनले जानकारी दिइन्। भ्यूअर्सको आधारमा विजेता छनोट गरिने छ ।

आइटी महोत्सवअन्तर्गत सूचना प्रविधिसम्बन्धी विभिन्न परियोजना, नयाँ प्रविधि तथा रोबोटहरु, विद्यार्थीहरुले दृष्टिविहीनहरुको लागि उपयोगी हुने सेन्सरसहितको छडी र विद्युतीय गाडीजस्ता प्रदर्शनीले पनि मेलाको रौनकता थपेको प्रचार-प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले बताए ।

आइटी मेलाअन्तर्गत नै वैदेशिक पलायन रोक्नको लागि परामर्शको व्यवस्थासमेत मिलाइएको उनले बताए। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि सञ्चालित मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो, भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: