
रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषधविरुद्धको अभियान तीव्र बनाएको छ। अभियानअन्तर्गत माघ २० गतेसम्म ९ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।
चन्द्रनिगाहपुर क्षेत्रमा लागुऔषध सेवनकर्ता र विक्रेताहरूको संख्या बढ्दै गएको गुनासोपछि प्रहरीले अभियान सञ्चालन गरेको हो। शनिबार साँझ मात्र खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। चन्द्रपुर नगरपालिका–४, चिडिया दहडाँडा टोल निवासी सागर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा श्रेष्ठको घरमा खानतलासी गर्दा १.५ ग्राम खैरो हिरोइन बरामद भएको डिएसपी राजकुमार राईले जानकारी दिए। पक्राउ परेका श्रेष्ठमाथि जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
