भोजपुरको ऐतिहासिक सरस्वती गुफा ओझेलमा, संरक्षणमा चासो कमी

Share:

भोजपुर नगरपालिका–१२, टक्सारस्थित सरस्वती गुफा ऐतिहासिक महत्व बोकेको धार्मिक स्थल भए पनि यसको पहिचान क्रमशः मेटिँदै गएको छ। श्रीपञ्चमीका अवसरमा देशभरका सरस्वती मन्दिरहरूमा भिड लागिरहेका बेला यो गुफा भने उपेक्षित बन्दै गएको छ।

समयक्रमसँगै विद्यालयहरूमा सरस्वती पूजाको चलन बढ्नुले गुफाको महत्व घट्दै गएको स्थानीयहरू बताउँछन्। सदरमुकामदेखि आधा घण्टाको दूरीमा रहेको यो गुफालाई आधुनिक जीवनशैली र प्रविधिमा रमाएका युवापुस्ताले बेवास्ता गर्न थालेका छन्।

यस गुफामा सात दाना अक्षता नचपाई निल्दा बुद्धि बढ्ने विश्वास विगतमा रहँदै आएको थियो। पहिले बालबालिकाहरूलाई अक्षर चिनाउनका लागि यहाँ ल्याउने गरिन्थ्यो, तर अहिले भने यो परम्परा हराउँदै गएको स्थानीय सानुकाजी शाक्य बताउँछन्।

गुफाको भित्री भागमा सरस्वती देवीको प्राकृतिक आकृति रहेको ढुङ्गा रहेको हुँदा यसको धार्मिक र सांस्कृतिक महत्व झन् विशेष रहेको स्थानीयहरूको भनाइ छ। विसं १९९० को भूकम्पअघि भोजपुर सदरमुकामको प्रसिद्ध सिद्धकाली मन्दिर शिवथानबाट साधुहरू टक्सारको सरस्वती गुफाबाट बाहिरिने गरेको जनश्रुति छ। तर, भूकम्पले गुफा प्रवेश मार्गमा अवरोध सिर्जना गरेपछि यो स्थल झन् उपेक्षित बनेको छ।

स्थानीय शिक्षक दीपेन्द्र श्रेष्ठका अनुसार गुफा प्रवेश मार्ग सुधार गर्ने हो भने यसलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिन्छ। पर्यटन मन्त्रालय र सम्बन्धित निकायले यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको माग छ।

इतिहास बोकेका यस्ता धार्मिक स्थलहरूको उचित संरक्षण हुन नसक्दा परम्परा लोप हुने खतरा रहेको स्थानीय अमृका ताम्राकार बताउँछन्। विद्यालयहरूमा सरस्वती पूजा गर्ने परम्परा बढ्दै जानु, गुफामा आवतजावत सहज नभएको कारण यसको अस्तित्व संकटमा परेको स्थानीयहरू गुनासो गर्छन्। संरक्षणका पहल नभए सरस्वती गुफा जस्ता धार्मिक स्थलहरू केवल नाममा सीमित हुन सक्ने चेतावनी उनीहरूले दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: