
सिरियाको उत्तरस्थित मानबिज शहर नजिकै सोमबार भएको कार बम विस्फोटमा १५ जनाको मृत्यु भएको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ।
सिरियाली सञ्चारमाध्यमहरूका अनुसार १४ महिला र एक पुरुषको ज्यान गएको छ भने सोही सङ्ख्यामा घाइते भएका छन्। ह्वाइट हेल्मेट उद्धार टोलीलाई उद्धृत गर्दै सानाले विस्फोट स्थानीय सडकमा ‘नरसंहार’ सिर्जना गर्ने गरी भएको उल्लेख गरेको छ। उक्त विस्फोट कृषि मजदुरहरू सवार गाडी नजिकै भएको र घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
सिरियामा सन् २०११ मा तत्कालीन राष्ट्रपति बसर अल असदविरुद्ध सुरू भएको आन्दोलन गृहयुद्धमा परिणत भएपछि पाँच लाखभन्दा बढी नागरिकको ज्यान गएको थियो। युद्धका कारण करिब आधा जनसङ्ख्या आन्तरिक वा बाह्य रूपमा विस्थापित हुन बाध्य भएको थियो।
डिसेम्बर २०२४ मा हयात तहरीर अल–शाम (HTS) को नेतृत्वमा विद्रोहीहरू दमास्कस नियन्त्रणमा लिएपछि असद शासनको अन्त्य भएको थियो। विद्रोही समूहले अन्तरिम सरकार गठन गरेपछि २०१२ को संविधान निलम्बित गरी नयाँ संविधान निर्माण प्रक्रिया अगाडि बढाइरहेको छ।
तर, असदका बफादार लडाकु समूहहरूले नयाँ सरकारविरुद्ध प्रभावशाली क्षेत्रहरूमा आक्रमण जारी राखेका छन्। मानबिज विस्फोटलाई पनि त्यही निरन्तरताको रूपमा हेरिएको छ।
