
काठमाडौं — नेपाल महिला टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार थाइल्यान्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले ६ विकेटको क्षतिमा १०६ रन मात्र बनाउन सक्यो। नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन् भने रचना चौधरी र पूजा महतोले समान १-१ विकेट लिए।
थाइल्यान्ड प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ। उसले पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालविरुद्ध जित हासिल गरेको थियो।
आजको खेलमा नेपालका लागि कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, अलिसाकुमारी यादव र रचना चौधरी प्लेइङ ११ मा छन्।
