
काठमाडौं — नेपाल महिला टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको छ।
मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले ६ विकेटको क्षतिमा १०६ रन बनाएको थियो। नेपालको बलिङतर्फ मनिषा उपाध्यायले ३ विकेट लिइन् भने रचना चौधरी र पूजा महतोले समान १/१ विकेट लिए।
१०७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले ८ विकेट गुमाउँदै १०१ रनमात्र बनाउन सक्यो। यस हारसँगै नेपाल महिला टोली प्रतियोगितामा लगातार चौथो खेलमा पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सिरिजमा नेपाल, नेदरल्यान्ड्स, र थाइल्याण्ड प्रतिस्पर्धामा छन्। थाइल्याण्ड यसअघि खेलेका तीनै खेलमा अपराजित रहँदै पहिलो र तेस्रो खेलमा नेदरल्यान्ड्स तथा दोस्रो खेलमा नेपाललाई हराएको थियो।
